नेपालगन्ज: नेपालगन्जको वेष्टर्न अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई प्रभाबकारी बनाउन स्टाफ नर्सहरुलाई क्रिटिकल केयर तालिम संचालन गरेको छ ।
नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेशन र क्रिटिकल केयर नर्सिङ एसोसियसन नेपालको समन्वयमा वेष्टर्न अस्पतालले नेपाल मै पहिलो पल्ट काठमान्डौ उपत्यका बाहिर बेसिक फर नर्सिङ तालिम संचालन गरेको हो ।
तालिममा वेष्टर्न अस्पतालका २८ जना नर्सहरू सहभागी भएका थिए । बिश्वभरका करिब ६० देशमा एउटै ढाँचामा सञ्चालित यो तालिममा आइसियूमा भर्ना भएका सिकिस्त बिरामीको रुटिङ केयर, भेन्टिलेटर लगायतका उपकरणहरु चलाउने तरिका देखि सिकिस्त बिरामीको स्वास्थ्य अबस्थाका सुचकहरुको आधारमा तत्कालै दिनु पर्ने आकस्मिक सपोर्ट बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको छ ।
नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेशनका संस्थापक एब टिचिङ अस्पताल काठमान्डौको क्रिटिकल केयर विभागका प्रमुख डा.सुभाष प्रसाद आचार्य, भेरी अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख डा.पारस पाण्डे सहित टिचिङ, ह्याम्स, ग्रान्डी जस्ता सुबिधा सम्म अस्पतालको आइसियू विभागमा लामो समय देखि कार्यरत १० जना प्रशिक्षकहरुले तालिम दिन भएको थियो ।
एक सय बेड क्षमताको वेष्टर्न अस्पतालले ६ बेडको एचडियु संचालनको गर्दै आएको छ । फागुन १५ गते देखि अस्पतालले ८ बेडको सुबिधा सम्पन्न लेभल ३ तहको आइसियू संचालनमा ल्याउन लागेको छ । संचालन हुन लागेको आइसियूमा भर्ना हुने हरेक बिरामीका लागि एक-एक जना डेडिकेटेड नर्सबाट क्रिटिकल केयर सहितको उपचार सेवा दिइने छ ।
आइसियुमा काम गर्ने नर्सहरुलाई दक्ष बनाउने उद्देश्यले तालिम संचालन गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा.राहुल थापाले बताउनुभयो । २०७९ कार्तिकको अन्तिम साता वेष्टर्न अस्पतालले अस्पतानलमा कार्यरत स्टाफ नर्स सहित सम्पर्ण कर्मचारीहरुका लागि बेसिक लाइफ सपोर्ट तालिम संचालन गरेको थियो ।
अस्पतालका सम्पर्ण स्टाफहरुका लागि यस किसिमको तालिम संचालन गर्ने वेष्टर्न अस्पताल पश्चिम नेपाल कै पहिलो अस्पताल हो । अत्याधुनिक उपकरण र दक्ष स्टाफ नर्स सहित चिकित्सकहरुको टीम बनाएर वेष्टर्न अस्पतालले नेपालगन्ज मै काठमान्डौ र लखनउका ठुला र सुबिधा सम्पन्न अस्पताल कै हाराहारीमा उपचार सेवा दिने प्रयास गरि रहेको छ ।
वेष्टर्न अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल र्सजरी, प्रसुति तथा स्त्री रोग, नाक कान घाटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र यूरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले निकट भविस्य मै बाल रोग, मानसिक रोग, न्यूरो सर्जरीका साथै डाइलासिस सेवा संचालनको तयारी गरिरहेको जनाएको छ ।?