डाक्टरमाथि कुटपिट भएको विरोधमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द

    • स्वास्थ्य पेज

  • २९ माघ २०७९, आईतवार

नेपालगन्जः नेपाल चिकित्सक सङ्घले डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द भएको छ ।

सङ्घले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गराएको हो ।

सङ्घका अध्यक्ष डा.अनिल कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम नागरिकले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न सङ्घले माग गरेको छ ।

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प हुँदा बिरामी भने मर्कामा पर्ने भएका छन् । यसको जिम्मेवारसमेत सरकार नै रहेको सङ्घका महासचिव डा सन्जिब तिवारीले बताउनु भएको छ । डाक्टरमाथि भएको कुटपिट अनुचित भए पनि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्नु ठिक नहुने भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेका छन् ।

यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरलाई कुट्ने प्रहरी निलम्बनमा परेका विषयमा पनि टिप्पणी भइरहेको छ । व्यक्तिलाई निलम्बन गर्नुभन्दा पनि प्रवित्तिको अन्त्य गर्नु पर्नेमा धेरैको जोड छ।

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech