राष्ट्रपतिको सवारीका बेला चिकित्सक कुट्ने प्रहरी निलम्बित

    • स्वास्थ्य पेज

  • २८ माघ २०७९, शनिबार

नेपालगन्ज: राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार सुरक्षा व्यवस्थापनका लागि प्रहरीले आफ्नो ड्यूटी गरेको भए पनि चिकित्सकमाथि कुटपिट हुनु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हातपात गर्नुले राम्रो देखिएन, त्यसैले छानबिन गर्नलाई निलम्बन गरेका छौं ।’

शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शितलनिवासबाट बानेश्वरसम्म आउने र पुन शितलनिवास फर्कने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो ।

त्यस क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह कुटपिटमा पर्नु भएको थियो । प्रहरीले फिल्मी शैलीमा आफूमाथि कुटपिट गरेको उहाँले बताउनुभयो ।

चिकित्सक कुटिएपछि राष्ट्रपतिको सवारी शैलीबारे सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । सवारीका कारण लामो समयसम्म सर्वसाधारणले जाम पनि व्यहोर्नु परेको थियो ।

  • २८ माघ २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech