कोहलपुरको भवानिपुरमा बृहत् सरसफाई

    • स्वास्थ्य पेज

  • २८ माघ २०७९, शनिबार

कोहलपुर: बाँकेको कोहलपुर नगरपालिका-९ भवानिपुरमा आज बृहत् सरसफाई गरिएको छ । कोहलपुर नगर प्रहरीको आयोजनामा वडाको राजमार्ग क्षेत्र र भित्री बस्तीको सरसफाई गरिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।

जनप्रतिनिधि, स्थानीय क्लब, स्थानीयबासीसँगको सहकार्य र समन्वयमा उनीहरुको प्रत्येक्ष सहभागितामा सरसफाई गरिएको हो । नगर प्रहरी प्रमुख थापाका अनुसार कोहलपुर नगरपालिकालाई सफा सुग्घर राख्ने अभियान अन्तर्गत सरसफाई अभियानलाई ब्यापक बनाउने प्रयासमा नगर प्रहरी रहेको छ ।

नगरपालिकाले एक महिना अघिदेखिनै सार्बजनिक स्थानमा फोहोर नफाल्न आग्रह गर्दै नगरपालिका भित्र माइकिङ गर्दै आएको छ। पहिलो चरणमा नगर प्रहरी आफै खटिएर फोहोर फाल्ने काम गरेको छ । त्यसमा नगरबासीलाई जथाभावी फोहोर नफाल्न सचेत बनाउने काम गरेको छ ।

अर्को पटक भने सार्वजनिक स्थानमा फोहोर फालेको पाइए कारबाही गर्ने रणनीति नगर प्रहरीले लिएको छ । त्यसको अभ्यास पनि नगर प्रहरीले गर्न सुरु गरिसकेको छ । नगर प्रहरीले सार्वजनिक स्थान मा जथाभावी फोहोर फालेको पाइए ५ हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिराउने गरि कारबाही अभियान सुरु गरेको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले आफ्नो घर वरपर तथा टोलको सरसफाई गर्नु नगरबासीको दायित्व भएको बताउनुभयो । भवानिपुरमा आयोजना गरिएको सरसफाई कार्यक्रममा सहभागी हुनु भएका प्रमुख प्रशासकीय अधिकृत ढकालले आफ्नै घर वरपर फोहोरका डंगुरहरु हुँदा पनि सरसफाइ गर्न तर्फ अग्रसर नहुनु लाजमर्दो बिषय भएकाले सकेसम्म स्थानीय आफैले यसको नेतृत्व लिएर आफ्नो टोल तथा बस्तीलाई सफा राख्न सुझाव दिनुभयो ।

कोहलपुर नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले आफ्नो वडालाई सफा सुग्घर बनाउने अभियानमा आफुहरु जुटेको बताउनुभयो । उहाँले वडाबासीहरुलाई जथाभावी फोहोर नफाल्न आग्रह गर्नुभयो ।

घरभित्रबाट निस्कने फोहोरलाई पनि कुहिने र नकुहिने गरि छुट्याएर राख्न र नगरपालिकाबाट आउने गाडीमा बिसर्जन गर्न सुझाव दिनुभयो । आफ्नो वडालाई सफा र सुन्दर बनाउने अभियानमा सबै वडाबासी एक हुन पनि उहाँको आग्रह छ । उहाँले कोहलपुर नगरलाई सुन्दर बनाउने सबैको सम्मान जिम्मेवारी रहेको बताउनुभयो ।

  • २८ माघ २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech