बाँकेमा ७२ घण्टा यता दादुराका विरामी फेला परेनन्, १०२ प्रतिशत बालबालिकाले खोप लगाए

    • स्वास्थ्य पेज

  • २७ माघ २०७९, शुक्रबार

नेपालगन्जः बाँकेमा दादुरा–रुबेलाको खोप लक्ष्यभन्दा बढीले लगाएका छन् । ६ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ७१ हजार २४५ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले जिल्लाका ८ वटा पालिकामा एक लाख ६८ हजार ४०२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको थियो । २६ माघ (विहीबार)सम्म यो लक्ष्यभन्दा दुई हजार ८४३ जना बालबालिकाले बढी हो । अभिभावकहरु रोजगारीको शिलशिलामा यतै बसोबास गर्नेदेखि अध्ययनका लागि आएका बालबालिकाहरुले समेत खोप लगाएका कारण लक्ष्य भन्दा बढी बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएको श्रेष्ठको भनाइ छ ।

‘अहिलेसम्म १०२ प्रतिशत बालबालिकाले खोप लगाएका छन् स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले भन्नुभयो–‘खोपप्रति बालबालिकाको आकर्षण बढेको देखियो यो सकारात्मक पक्ष हो ।’ बाँकेमा गएको पुष १२ गते दादुरा संक्रमण सुरु भएको थियो ।

त्यसपछि पुष २२ गतेदेखि नेपालगन्जबाट खोप लगाउन सुरु गरिएको थियो । अहिलेसम्म बाँकेमा ३२२ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । तीमध्ये ३१७ जना निको भएर घर गइसकेका छन् ।

४ जना भने उपचाररत रहेका छन् । एकजना बालकको भने दादुरा संक्रमणबाट मृत्यु भइसकेको छ । पछिल्लो ७२ घण्टामा जिल्लामा दादुराका कुनै पनि बिरामी फेला परेका छैनन ।

 

  • २७ माघ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech