नेपालगन्ज: संविधान पिता, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति स्व. शुसिल कोइरालाको ७ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाँकेले आज नेपालगन्जस्थित पार्टी कार्यालयमा बृहत् रक्तदान कार्यक्रम गरेको छ ।
काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतिमा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम् काँग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्र हमालले स्वर्गीय कोइरालाको सादगी जीवनशैली सबैको लागि प्रेरणादायी रहेको बताउनुभयो ।
कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै उहाँले संविधान जारी गर्न लिएको चट्टानी अडान सधैंवमा नेपालीहरुले सम्झिरहने उल्लेख गर्नुभयो ।
काँग्रेस बाँकेका सभापति गौडेलले स्वर्गीय कोइरालाले राजनीति, समाजसेवा र मानवीय सेवामा पुर्याएको योगदानलाई आत्मसाथ गर्दै काँग्रेस बाँके पनि रक्तदानसहितका मानवीय तथा सामाजिक कार्यहरु गर्दै आएको बताउनुभयो ।
उहाँले पार्टीले आफ्ना कार्यक्रमहरुलाई सामाजिक र मानवीय सेवामा जोड्दै अघि बढेको उहाँको भनाइ छ । पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको संचालन पार्टी सचिब सुधांशु कोइरालाले गर्नुभएको थियो ।
कार्यक्रममा मन्जु शाह, संगित रेग्मी, तेज ओली, सन्तोषी, अस्मित आचार्यसहित ६५ जनाले रक्तदान गर्नु भएको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिनुभयो ।