सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छ: डा.पाण्डे

    • स्वास्थ्य पेज

  • १८ माघ २०७९, बुधबार

कोहलपुर: कोहलपुर नगरपालिकाले आज सिकलसेल एनिमिया रोग सम्बन्धि अभिमुखिकरण गरेको छ । नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रममा भएको हो ।

त्यसक्रममा  सिकलसेल विज्ञ भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले थारु समुदायमा देखिएको सिकेलसेल रोगले पारेको असर कहालीलाग्दो रहेको बताउनु भयो ।

उहाँले सिकलसेल रोग नियन्त्रणका लागि थारु समुदायमा जनचेतना जगाउन जरुरी रहेको बताउनु भयो । सिकलसेल रोगको चेन ब्रेक गर्न रोगी-रोगी बीचको बिहेबारी रोक्न आवश्यक रहेको उहाँको भनाइ छ । त्यसकालागि स्थानीयस्तरमै जनचेतना फैलाउन जरुरी रहेको बताउनु भयो ।

यस क्षेत्रका थारु समुदायमा बंशाणुगत सिकलसेल र थालेसेमिया रोग जनस्वास्थ्य समस्याकारुपमा रहेकाले यसको न्यूनीकरणका लागि रगत परिक्षण गरेर मात्र बिहेबारी गर्न उहाँले सुझाव दिनुभयो । डा. पाण्डेकै अनुसन्धान तथा पहलमा सरकारले सिकलसेलका बिरामीलाई उपचार खर्च बाफत १ लाख रुपैयाँ दिदै आएको छ ।

तर थालेसेमिया रोगीलाई भने अहिले सम्म सरकारले कुनै सेवा सुबिधा दिएको छैन । उहाँले स्थानीय सरकारले आफ्नो पालिका भित्रका सम्पुर्ण बालबालिकाको सिकलसेल तथा थालेसेमिया चेकजाँच गर्न सक्ने गरि नीति बनाउन सकियो भने रोग नियन्त्रणमा ठूलो उपलब्धी हुने उहाँको भनाइ छ । उहाँले भेरी अस्पतालमा अहिले सिकलसेल तथा थालेसेमियाको निशुल्क परिक्षण गर्ने गरिएको जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रममा वडा न• १ का वडा अध्यक्ष बद्री जैशी, वडा न• २ का  वडा अध्यक्ष हरिसिंह कठायत, वडा न• ६ का वडा अध्यक्ष श्रीकृष्ण चौधरी, वडा न• ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी, वडा न• १२ का वडा अध्यक्ष बीरेन्द्र कुमार शाह, वडा न• १३ का वडा अध्यक्ष डम्बर खड्का, सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विक, स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरी, स्वास्थ्य संस्थाका नर्सिङ स्टाफ लगायतको सहभागिता रहेको कोहलपुर नगरपालिका सिकेलसेल प्रयोगशाला प्रमुख शिव गौतमले जानकारी दिनुभयो   ।

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech