नेपालगन्जः नेपाल मेडिसिटी अस्पतालले २० महिने बालकलाई म्याद गुज्रेको खोप दिएको खुलासा भएको छ । भक्तपुर लोकन्थलीका सौरभ भट्टराईका छोरा सारांश भट्टराईलाई अस्पतालले १ महिनाअघि नै म्याद सिद्धिएको खोप लगाइदिएको हो ।
अस्पतालमा खोपका लागि आवश्यक रकम तिरेको बिलमा खोपको म्याद गुज्रिने मिति मे, २०२४ लेखिए पनि खोप कार्डमा ‘हेक्सासिम’ खोपको म्याद नोभेम्बर २०२२ मै सकिएको देखिएको छ ।
यो खोप सातवटा खोपहरुको संयोजन हो, जुन ६ हप्ताभन्दा माथिका बालबालिकालाई लगाइन्छ । यो खोपले भ्यागुते रोग, लहरे खोकी, टिटानस, पोलियो, हेपटाइटिस बी र हेमोफिलस एन्फ्लुएन्जा टाइप बीविरुद्ध सुरक्षा दिन्छ ।
अस्पतालको लापारबाही देखिएपछि भट्टराईले नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीलाई पत्र पनि लेख्नुभएको छ । काउन्सिलका रजिस्ट्रार कृष्ण अधिकारीले काउन्सिलमा उजुरी आएको र यसको छानबिन भइरहेको बताउनुभयो ।
बालकका बुबा भट्टराईले राजधानीकै ठूलो अस्पताल भनेर दाबी गर्ने अस्पतालको हदैसम्मको यस्तो लापारबाही गरेकाले आवश्यक कारबाहीका लागि काउन्सिलमा उजुरी दिएको बताउनुभयो ।
अस्पतालकी मिडिया कोअर्डिनेटर मनिता पोखरेलले यस विषयमा छानबिन भइरहेको बताउनुभयो । हेक्सासिम खोप उत्पादन गर्ने कम्पनीको आधिकारी वेबसाइटमा खोपको मिति गुज्रिएपछि प्रयोग गर्न नहुने उल्लेख छ ।