राज्य छ भन्ने अनुभूति दिलाउन प्रेमलाई भेटें : स्वास्थ्य राज्यमन्त्री कार्की

    • स्वास्थ्य पेज

  • १३ माघ २०७९, शुक्रबार

नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आईसीयूमै भेट्न गएको स्पष्टीकरण दिनुभएको छ ।

शुक्रबार बिहान फेसबुक सन्देशमार्फत सार्वजनिक गरिएको स्पष्टीकरणमा अस्पताल पुगेर मृत्युअघि आचार्यलाई भेटेर गल्ती नगरेको तर्क उहाँले गर्नुभएको छ।

मृत्युसँग संघर्ष गरिरहेका बिरामीलाई आईसीयू प्रोटोकलविपरीत भेटेको भन्दै उहाँको आलोचना भइरहेको छ ।डा. कार्कीले ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै समयमै गएर भेटेको भन्दै सन्तोष व्यक्त गर्नुभएको छ ।

‘राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै उनका आँखाहरू सधैंका लागि बन्द हुनु अगावै, उनका बोलि सधैंको लागि रोकिनु अगावै, म उहाँलाई भेट्न पुगेको थिएँ । भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ । धन्न मैले ढिला गरिनछु …,’ उहाँले लेख्नुभएको छ ।

आईसीयू प्रवेश गर्नुअघि आफूले सबै प्रोटोकल पूरा गरेको उहाँको दाबी छ । ‘म आफू नै जनरल सर्जन हुँ जो विगतमा बर्न सम्बन्धीकै बिरामीहरू पनि हेर्ने गरेको छु,’ उहाँले लेख्नुभएको छ, ‘८० प्रतिशतभन्दा धरै जलन भएर बाँच्न सक्ने अवस्था न्यून भएको बिरामीलाई त्यसबेला मैले दिन सक्ने केही थिएन, मेरो हातमा केही थिएन, मात्र थोरै मेरो तर्फबाट मायाको स्पर्श, आत्मियता र अन्तिम घडीमै भए पनि थोरै आत्मबल ।’उहाँले मृत्यु भइसकेका व्यक्तिमाथि राजनीति नगर्न आग्रह पनि गर्नुभएको छ ।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech