१-मिति २०७८ मङ्सिरमा काठमाडौंमा कोईला ताप्नेक्रममा निसासियर एकै परिवारका ३ जना अचेत अवस्थामा भेटिए भने १ जनाको उपचार गर्ने क्रममा मृत्यु भयो।
२-२०७८ पुषमा बाँकेको नेपालगन्जमा एकै परिवारका ४ जनाको मृत्यु भयो ।
३-२०७८ माघमा भक्तपुरमा ३ महिनाको शिशुको मृत्यु तथा अन्य २ परिवार अचेत अवस्था भेटिए ।
४-२०७८ माघमा काठमाडौंमा २ जनाको मृत्यु ।
५-२०७८ फाल्गुनमा ललितपुरमा नवजात सिशु सहित ५ जना को मृत्यु ।
६-२०७९ पौष १८ मा भारतको उत्तरप्रदेश मा कैलालीका एकै घरका ३ जनाले ज्यान गुमाए ।
७-२०७९ पौष २६ मा पर्साको बिरगन्जमा २ जनाले ज्यान गुमाए ।
प्राय माथि घटेका सम्पूर्ण घटनाको मुख्य कारण भनेको कार्बन मोनोअक्साइड (Carbon Monoxide-CO)ग्यास बिषाक्त हो । र राम्रो सँग ध्यान दिने र समाजमा चेतना फैलाउने हो भने अकालमा हुने यस किसिमको मृत्यु रोक्न सकिन्छ । आउनुहोस् आज यस अंकमा कार्बन मोनोअक्साइड ग्यास बिषाक्त सम्बन्धी केही छलफल गरौँ।
अझै पनि चिसो ठाउँहरुमा र बिशेष गरेर नवजात शिशुलाई सेक्ने भनेर बन्द कोठामै हिटर वा कोइला बाल्ने चलन प्रशस्तै देखिन्छ । कार्बन मोनोअक्साइड बिषाक्त भनेको एक साइलेन्ट किलर समस्याका रुपमा पनि चिनिन्छ किनभने यो गंधहीन, स्वादहीन र रंगहीन रासायनिक ग्यास हो ।
असर कसरी गर्छ ?
हाम्रो शरीरमा भएको हेमोग्लोबिनले सामान्यतया अक्सिजनलाई बोकेर शरीरको पुरै तन्तुहरुमा पुर्याउँछ । तर CO को मात्रा बढी भएमा हेमोग्लोबिनले CO सँग अक्सिजन भन्दा २०० गुणा बढी बाधीन्छ । कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वाश प्रक्रिया बन्द हुन जान्छ र शरीरका कोश तथा तन्तुहरुमा अक्सिजनको कमी हुन गयी लक्षणहरु देखा पर्न थाल्दछन् ।
होश भएको मान्छेले श्वास फेर्न अप्ठ्यारो भएको सजिलै थाहा पाउँछ तर सुतेको मान्छे, बच्चा र नवजात शिशु छ भने त्यो बेहोशीमा जान्छ । बेहोशीमा गएपछि कुनै प्रतिक्रिया जनाउन नसक्ने कारण मृत्यु हुने गर्दछ ।
कारणहरु:
- ग्यास, बॉयलर, वॉटर हीटर, सेंटर हीटिंग सिस्टम, र आगो जसलाई जलाउनको लागि ग्यास तेल कोयला र काठको प्रयोग गरिन्छ । जब इन्धनको स्रोतहरु बिभिन्न कारणले राम्रो सँग जल्दैन त्यस्तो अवस्थामा कार्बनमोनोअक्साइड ग्यास बढी मात्रामा उत्पादन हुन्छ ।
- बन्द ग्यारेजमा कारको इन्जन लामो समयसम्म चलाएमा साथै एक्जस्ट बिना लामो समयसम्म एसी खुल्ला छोडेमा ,
- आगो बालेर बन्द गरिएको कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हुँदै जान्छ ,
- क्षतिग्रस्त उपकरणबाट पनि प्रशस्त मात्रामा ग्यास लिक हुने गर्दछ ।
लक्षणहरु :
- बच्चाहरुले अली छिटो श्वास फेर्ने भएको हुँदा व्ययस्क भन्दा बढी समस्या देखिने गर्दछ ।
- मन्द टाउको दुख्ने ,चक्कर लाग्ने, थकान लाग्ने, वाकवाक लाग्ने,कमजोरीपन,
- उल्टी हुने, आँखा धमिलो हुँदै जाने, छाती दुख्न थाल्ने,
- छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुने हुन्छ ।
- शरीरलाई अपरिवर्तनीय क्षति निम्त्याउँछ र समयमै समस्याको पहिचान र उपचार नभए मृत्युसमेत हुन सक्छ ।
दीर्घकालीन परिणामहरू तथा जटिलताहरु
- भ्रम को स्थिति (confusion), स्मरण शक्ती हराउदै जानु (memory loss)
- समन्वयमा समस्या आउनु (coordination problem)
- मुटुको समस्या, न्यूरोलोजिकल डिसअर्डर, र सेरेब्रोभास्कुलर दुर्घटनाको अनुभव गर्न सक्दछन।
बढी जोखिममा को को पर्छन त ?
- नवजात शिशु र साना बच्चा
- गर्भवती महिला
- मुटुरोगी
- दम (Asthma) जस्तो श्वासप्रश्वास सम्बन्धी दिर्घ रोगीहरु
रोकथाम को उपाय
- बन्द कोठामा कोइला जलाएर नसुत्ने,
- प्रयाप्त भेन्टिलेसन को ब्यबस्था गराउनु,सुत्नु अघी आगो राम्रो सँग पुरै निभाएर मात्रै सुत्नु ,
- बॉयलर, कुकर, हीटिंग सिस्टम उपकरण प्रयोग गर्नेहरुले नियमित तरिकाले चेकजांच तथा मर्मत सम्भार गराइराख्ने,
- बन्द ग्यारेजमा इन्जिन चलाएर नछोड्ने,
- हिटर प्रयोग गर्दा झ्यालढोका खुला राख्नुपर्छ भने रातभरि हिटर बालेर नछाड्ने, , बाल्नुपरे पनि केही समय शरीर तताएर हिटर बन्द गर्नु पर्ने,हिटर चालु रहेको समयमा कोठामा सानो भाडामा पानी राख्ने,
- कार्बन मोनोअक्साइड विषाक्तताको लक्षण सम्बन्धी जानकारी लिने र अरुलाई सिकाउने ,
- समस्या देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा जाने वा लैजाने ।
याद गर्नुहोस् , कार्बन मोनोअक्साइड (CO) ग्यास बिषाक्त भएको खण्डमा बिरामीको शरीरमा अक्सिजनको मात्रा पल्स अक्सिमिटरले नर्मल देखायता पनि कम्तीमा ६ देखी २४ घण्टा सम्म १००% अक्सिजन थेरापी दिनु पर्छ ।