चिसो बढेसँगै स्वास्थ्य संस्थामा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । चिसो मौसममा बालबालिकालाई श्वासप्रश्वास, रुघाखोकी, झाडापखाला, निमोनियाजस्ता समस्या देखिने गर्छ । अभिभावकले ख्याल नगर्दा वा गलत उपचार गर्दा बालकबालिकाको स्वास्थ्यमा जटिलता देखिने जोखिम उच्च हुने कान्ति आरोग्य अस्पताल नेपालगन्जका बरिष्ठ बालरोग विशेषज्ञ डा रोमा बोरा बताउनुहुन्छ । चिसो मौसममा बालबालिकामा देखिने स्वास्थ्य समस्या र त्यसबाट जोगिन अपनाउनुपर्ने सतर्कताबारे डा. रोमासँग स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकालले गरेको कुराकानीको सम्पादित अंश:
चिसो मौसममा बालबालिकामा कस्तो समस्या देखिन्छ ?
चिसो मौसममा बालबालिकाहरुलाई भाइरल रोगको संक्रमण बढी हुन्छ । श्वासप्रश्वासमा समस्या, रुघाखोकी, टन्सील, कान दुख्ने, विन्टर झाडापखाला बढी देखिन्छ । रुघाखोकी लागेमा सामान्यतया ५ देखि ७ दिनमा ठीक हुन्छ, कहिलेकाँही ८ देखि १० दिनसम्म पनि हुन सक्छ । ४–५ दिनसम्म ज्वरो आउन सक्छ । तर, रुघाखोकीको भने राम्रो उपचार नभए निमोनियासमेत हुन सक्छ । बालबालिकालाई सास फेर्न गाह्रो हुने, लामो–लामो सास फेर्ने समस्या देखिए निमोनियाको शंका गर्नुपर्छ । दमको समस्या देखिए छाती घ्यारघ्यार हुन्छ । समयमै उपचार नपाए जटिलता आउन पनि सक्छ ।
कस्ता बालबालिकामा चिसोको जोखिम बढी हुन्छ ?
कुपोषण भएका बालबालिका बढी जोखिममा हुन्छन् । मुटु रोग लागेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकामा पनि यस्तो रोगको जोखिम हुन्छ । समय नपुगी जन्मिएका वा तौल कम भएका बालबालिकामा निमोनिया र श्वासप्रश्वासजन्य रोग बढी देखिन्छ । सबैभन्दा बढी ५ बर्षभन्दा मुनिका बालबालिकालाई झाडापखला र श्वासप्रश्वासमा समस्या देखिन्छ । एक बर्षमुनिका बालबालिकालाई श्वासप्रश्वासजन्य र झाडापखालाका समस्या भएमा जटिलता बढेर मृत्यु हुने सम्भावना पनि हुन्छ ।
स–सना बालबालिकालाई दम हुँदैन भन्ने बुझाई छ नि ?
ठूलो मानिसमा जस्तै बच्चामा पनि दमको समस्या देखिन्छ । यो बंशाणुगत रोग हो । यदी बुवाआमालाई छ भने बच्चाहरुलाई पनि दम हुने जोखिम बढी हुन्छ । बच्चाको श्वास–प्रश्वास प्रणालीमा समस्या देखिएमा निमोनिया नै भयो भन्ने प्रचलन छ, तर होइन । बच्चामा देखिएको श्वास–प्रश्वास समस्या दम पनि हुन सक्छ । निमोनिया र दम फरक कुरा हुन् । निमोनिया हुँदा ज्वरो बढी हुन्छ । तर, दममा ज्वरो नआउने वा कम आउने हुन्छ । दम हुँदा घ्यारघ्यार बढी हुन्छ । विभिन्न क्लिनिक र औषधि पसलले निमोनिया र दम भएका बालबालिकालाई एकै किसिमको औषधि दिएको देखिन्छ । निमोनिया, ब्रोन्काइटिस (दम), रुघाखोकीको बेग्ला–बेग्लै किसिमको उपचार पद्धति छ ।
रुघाखोकीमा घरेलु उपचार के गर्न सकिन्छ ?
रुघाखोकी लागेको बेला दाल, भात, दूध दिनुपर्छ । श्वासप्रश्वासको समस्या भएको बेला मनतातो झोल पदार्थ दिनुपर्छ, जसले खोकी र घाँटीको दुखाइ कम हुन्छ । माछा, मासु र अण्डा पनि खुवाउन सकिन्छ । फ्रिजमा राखेको खानेकुरा खुवाउन हुँदैन । धेरै अभिभावकले रोग लागेपछि माछा, मासु, अण्डा, दूध दिन बन्द गर्छून् । झोलिलो पदार्थ खुवाउनुपर्छ भनेर दालको रस मात्रै खुवाउँछौं । दालको रसले मात्र शरीरलाई शक्ति पुग्दैन । रुघाखोकी लागेको बेला धेरै पौष्टिक आहारको आवश्यकता पर्छ । रोगले सताएको बेला खानेकुरा कम हुँदा बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ । रुघाखोकी लागेका बालबालिकालाई न्यानो बनाएर राख्ने, लामो र हावा नछिर्ने कपडा लगाइदिनुपर्छ ।
अभिभावकलाई तपाईको सुझाव के छ ?
यो चिसोमा धेरै जना एकै ठाउँमा गुम्सिएर बस्ने, आगो ताप्ने, हिटर बाल्ने, कोइला बाल्ने चलन छ । यो एकदमै गलत हो । यदी कोठाभित्र कोइला बालेर ताप्ने चलन छ भने बालबालिकालाई निमोनियानै हुने जोखिम हुन्छ । बरु शरिर छोपिने कपडा लगाउनु पर्छ । एउटै मोटो कपडा लगाउनु भन्दा बरु पातलो कपडा तीन चारवटा लगाउन उपयुक्त हुन्छ ।