डा‍. पंकज चौधरी पुर्पक्षका लागि कारागार चलान

    • स्वास्थ्य पेज

  • २२ पुष २०७९, शुक्रबार

नेपालगन्जः दाइजोसम्बन्धी कसूरमा डा पंकज चौधरी जेल चलान हुनु भएको छ । पत्नी नेहा चौधरीले हालेको मुद्दामा भएको थुनछेक बहसपछि महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका ५ का पंकजलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।

इजलास नं. २ का न्यायाधीशद्वय हरिप्रसाद उपाध्याय र श्रवण पंगेनीको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तदार मदन प्रसाद जयसवालले जानकारी दिनुभयो । बिहीबार अदालतमा दर्ता भएको सो मुद्दामा शुक्रबार थुनछेक बहस भएको थियो ।

दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी औरही–१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गर्नुभएको थियो । तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो । विवाहको चारमहिनापछि दुबैबीच दरार उत्पन्न भएको थियो ।

नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आउनुभएको छ । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दावी गर्दै आउनुभएको छ । उहाँले आफूले विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गर्नुभएको छ ।

नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गर्नुभएको छ भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुभएको छ ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech