नेपालगन्जमा दादुराः फैलिसक्यो महामारी, छैन भ्याक्सिनको सुरसार

    • स्वास्थ्य पेज

  • २१ पुष २०७९, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकामा दादुरा फैलिएको ९ दिन वितिसक्दा पनि खोप अभियान सुरु भएको छैन । नेपालगन्ज उपमहानगरपालिकामा एक जना बालकको ज्यान जाने गरी तीब्ररुपमा दादुरा फैलिरहँदा पनि उपमहानगरपालिकाले खोप अभियानलाई भने अगाडि बढाउन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकाका ५, ७, ८ १०, १५ र २२ नम्वर वडाका २८ जना बालबालिकामा दादुरा देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको गाइडलाइनमा दादुराको महामारी फैलिए तत्काल दादुरा–रुबेला खोप कार्यक्रम सुरु गर्नु पर्ने भनिएको छ । गाइडलाइनमा बिरामीको उमेर ५ वर्ष मुनिका धेरै भएमा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई एक डोज दादुरा रुवेला खोप दिनु पर्छ । यदी ५ वर्ष भन्दा धेरै उमेर समूहका बिरामी उल्लेख्य संख्यामा देखा परेमा सो समूहका (सामान्यतयाः १५ वर्षसम्म) बालबालिकालाई पनि दादुरा रुवेलाको एक डोज खोप दिन भनिएको छ ।

यस्तै ९ महिना भन्दा कम उमेर समूहमा पनि रोग देखा परेमा ६ महिनादेखिको उमेर समूहमा खोप दिनु पर्ने उल्लेख छ । नेपालगन्जमा ९ महिना मुनिका बालबालिकामा पनि दादुरा देखिएकाले ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा रुवेला खोप दिनु पर्ने अवस्था देखिएको छ । दादुरा देखिए लगत्तै प्रभावित क्षेत्रका बालबालिकाको अभिलेख तयार पारी जोखिम नियन्त्रण गर्न खोप अभियानलाई तीब्रता दिनुपर्नेमा अहिलेसम्म खोपको प्रक्रिया अगाडि बढन सकेको छैन ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले खोपको प्रक्रिया अगाडि बढिसकेको दावी गर्नुहुन्छ । ‘६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाको अभिलेख संकलनका लागि महिला स्वास्थ्य स्वयमसेविकालाई परिचालन गरिएको छ चन्दले स्वास्थ्य पेजसँग भन्नुभयो–‘बालबालिकाको तथ्यांक संकलनपछि दुई तीन दिन भित्र खोप अभियान सुरु गर्छौ ।’ श्वासप्रश्वासका माध्यमबाट तीब्र गतिमा सर्ने र फैलिने दादुरा संक्रामक रोग हो ।

दादुराले महामारीकोरुप लिइसक्दा पनि उपमहानगरपालिका भने अझै प्रभावित क्षेत्रका बालबालिकाको संख्या खोज्नमै अलमलिरहको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले प्रभावित क्षेत्रमा खोपको तयारी भइरहेको जानकारी दिनुभयो ।

महामारी फैलिएको स्थान र आसपासको क्षेत्रमा रोग फैलिन नदिन रोग देखा परेको उमेर समूहको आधारमा ६ महिनादेखि माथि र १५ वर्षदेखि मुनिका बालबालिकालाई दादुरा रुवेला खोप प्रदान गरी सवै तहमा ९५ प्रतिशत कभरेज पुर्याउनु पर्ने डब्लुएचओको गाइडलाइनमा भनिएको छ । तर दादुरा फैलिएको क्षेत्रका अधिकांश बालबालिकालाई खोप नलगाएको पाइएको छ । दादुरा देखिएका बालबालिका अधिकांशले खोप नलगाएको पाइएको चन्दको भनाइ छ ।

 

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech