साइनिङ अस्पतालमा १५७ नयाँ कुष्ठरोगी पहिचान, बाँकेका मात्रै ६१ जना

    • स्वास्थ्य पेज

  • २० पुष २०७९, बुधबार

नेपालगन्जः साइनिङ अस्पतालमा १५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ । आइएनएफद्धारा संचालित साइनिङ अस्पतालका अनुसार आर्थिक वर्ष ०७८/७९ मा १५७ जनामा कुष्ठरोगको पहिचान भएको हो । छाला, कुष्ठ तथा क्षयरोगका विरामीहरुको उपचार गर्दै आएको यो अस्पतालमा पहिचान भएकामध्ये ६१ जना बाँकेका हुन् ।

अन्य विरामी भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन् । बाँके र बर्दियाका २/२ जना र कैलालीका एक जना बालकमा कुष्ठरोग देखिएको छ । साइनिङ अस्पतालले अस्पतालमा आएका विरामीलाई मात्र स्क्रिनिङ गर्दैन । ठाउँठाउँमा शिविर समेत राखेर कुष्ठरोगी खोज्ने काम गर्छ । बर्दिया र बाँकेका ३ ठाउँमा राखिएको शिविरमा ५ हजार ५ सय ८६ जनाको स्क्रिनिङ गर्दा ३० जना नयाँ रोगी फेला परेका थिए ।

जानकी गाउँपालिका ३ मा रहेको यो अस्पतालमा आर्थिक वर्ष ०७८÷७९ मा १५ हजार ५ सय ८२ जना विरामीले ओपिडि सेवा लिएको अस्पताल प्रमुख मंगल थारुले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै १३ हजार ५ सय ४ जना छालाका विरामीले सेवा लिएका छन् । २४ वेड रहेको अस्पतालमा एक वर्षमा १३० जना कुष्ठरोगीका विरामी उपचारका लागि भर्ना भएका छन् । साइनिङ अस्पतालमा सेवा लिनेहरुमा बाँकेका १९ प्रतिशत, बर्दियाका २१, लुम्बिनी प्रदेश (बाँके र बर्दिया बाहेक) का १८, कर्णाली प्रदेशका २४, सुदूरपश्चिम प्रदेशका १५ र भारतका २ प्रतिशत विरामी छन् ।

पछिल्लो समय बालबालिकामा पनि कुष्ठरोगको संक्रमण देखिएकाले निवारण चुनौतिपूर्ण रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । पाँच वर्षसम्म कुनैपनि बालबालिकामा कुष्ठरोग देखिएन भने निवारण भएको मानिन्छ । तर यसक्षेत्रमा कुष्ठरोग पहिचान भएकामध्ये ३ प्रतिशत बालबालिकामा कुष्ठरोग देखिएको छ । यसले अहिलेपनि समाजमा कुष्ठरोग सर्ने क्रममै रहेको पुष्टि गर्छ । आइएनएफले आज नेपालगन्जमा आयोजना गरेको सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहाकार समितिको बैठकमा सो जानकारी गराएको हो ।

जिल्ला समन्वय समितिका उपसंयोजक सीता कार्कीको सभापतित्वमा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, भेरी अस्पतालका निमित्त मेसु डा कृष्ण आचार्य, नेपालगन्ज उपमहानगरपालिका वडा नं.९ का अध्यक्ष गोविन्द रेग्मीलगायतले आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य संस्थाका अधिकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech