नेपालगन्जमा दादुराको महामारी, बालबालिका उच्च जोखिममा, केयर नगरे ज्यान जान सक्छः चिकित्सक

    • स्वास्थ्य पेज

  • २० पुष २०७९, बुधबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाभित्र दादुराको महामारी देखिएको छ । आज थप ८ जना बालबालिकामा दादुरा देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले प्रभावित क्षेत्रमा दादुरा÷रुवेला शंकास्पद विरामीहरुको जाँच, परीक्षण तथा व्यवस्थापन शिविरमा ७० जनाको स्क्रिनिङ गरिएकोमा थप ८ जनामा दादुरा देखिएको हो ।

‘ब्लड स्याम्पल लिएर राष्ट्रिय प्रयोगशाला टेकुबाट पुष्टि त गरिएको होइन नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले भन्नुभयो–‘हाम्रो टीमको स्क्रिनिङमा ती बालबालिकाको लक्षण चिन्ह हेर्दा दादुरा जस्तै देखिएको छ ।’ स्क्रिनिङमा खटिनु भएका भेरी अस्पताल नेपालगन्जका बालरोग विशेषज्ञ डा विष्णु थापाले पनि लक्षण चिन्हलाई आधार मान्दा ती बालबालिकामा दादुरा नै भएको बताउनुभयो । चेकजाँचमा डा थापासँगै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज तथा कान्ति आरोग्य अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा रोमा बोरा र निशा थापा पनि खटिनु भएको थियो ।

सुरुमा वडा नं. ७ मा देखिएको दादुरा वडा नं. ५ र ८ मा पनि देखिएको छ । वडा नं. ७ र ८ मा ३/३ जना र वडा नं. ५ मा २ जना बालबालिकामा दादुरा देखिएको हो । दुई जना बालबालिका ९ महिना भन्दा मुनिका छन भने अरु अधिकांश ४ देखि ५ वर्ष उमेर समूहका छन् । कतिपय खोप लगाएका बालबालिकामा पनि दादुरा देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा दुई दिन अघि एकै परिवारका चार जना बालबालिकामा दादुरा देखिएको थियो ।

दादुरा श्वासप्रश्वासका माध्यमबाट तीब्र गतिमा सर्ने र फैलिने भएकाले नेपालगन्जका बालबालिका दादुरा महामारीको उच्च जोखिममा परेका छन् । ९ र १५ महिनाका बालबालिकालाई क्रमश दादुराको पहिलो र दोस्रो डोज खोप दिने गरिएको छ । श्वासप्रश्वासका माध्यमबाट तीब्र गतिमा सर्ने अत्यन्तै सक्रामक रोग भएकाले बालबालिकालाई भीडभाडबाट टाढै राख्न चिकित्सकहरु सुझाव दिन्छन् ।

विद्यालय, फनपार्कलगायतका क्षेत्रमा बालबालिकालाई विशेष केयर गर्न डा थापाको सुझाव छ । ‘माक्स अनिवार्य लगाउने, हातमा सेनिटाइजरको प्रयोग गर्ने र भीडभाडबाट बालबालिकालाई सकेसम्म अलग्गै राख्नु पर्छ’उहाँले भन्नुभयो । दादुरा देखिएका बालबालिकालाई आइसोलेट गर्ने, लक्षण चिन्हको आधारमा औषधि दिने, भिटामिन ए दिने र त्यस्ता बालबालिकालाई पर्याप्तमात्रामा तातो झोलिलो खानेकुरा खुवाउन डा थापाको सुझाव छ ।

त्यसैगरी खोप नलगाएका बालबालिकालाई खोप लगाउन पनि उहाँले आग्रह गर्नुभयो । दादुराजस्तै लक्षण चिन्ह भएका विरामीलाई चिकित्सकको निगरानीमा राख्नु पर्ने उहाँको भनाइ छ । शरीरमा रोग प्रतिरोध क्षमता कम भएका, कुपोषित, एचआइभी संक्रमित बालबालिकालाई विशेष हेरचाह गर्नुपर्ने भन्दै चिकित्सकहरु समयमा उपचार नपाए दादुराले ज्यान पनि लिन सक्ने बताउँछन् ।

दादुराको महामारी देखिएपछि स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, विश्व स्वास्थ्य स्वास्थ्य संगठन, युनिसेफ, वडा स्वास्थ्यकर्मीको टीम प्रभावित क्षेत्रमा परिचालन भएको छ ।

 

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech