डाक्टर पंकज चौधरी पक्राउ

    • स्वास्थ्य पेज

  • २८ मंसिर २०७९, बुधबार

नेपालगन्जः दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा डा पंकज चौधरी पक्राउ परेका छन् । पंकज एमबीबीएस डाक्टर हुन् ।

मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

नेहाले दिएको दाइजो विरुद्धको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको डीएसपी पोखरेलले बताउनुभयो ।

यसअघि गत कार्तिक ४ गते नेहाले घरेलु हिंसा सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराउनु भएको थियो । त्यस बखत पनि तीन दिन प्रहरीले पंकजलाई थुनेको थियो ।

दाइजो विरुद्धको कसूरमा कारबाही चलाउन पंकजमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहाको परिवारले खर्च गरेका थिए ।

बिहेको चार महिना पश्चात पंकज र नेहाबीच खटपट सुरु भएको थियो । पंकजले थप दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई कुटपिट तथा यातना दिइरहेको नेहाको आरोप छ ।

  • २८ मंसिर २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech