खजुरा क्यान्सर अस्पतालमा मुखको क्यान्सरको जटिल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • २४ मंसिर २०७९, शनिबार

नेपालगन्जः सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले जटिल अवस्थामा पुगेको मुखको क्यान्सरको सफल शल्यक्रिया गरेको छ। अस्पतालले बाँकेको जानकी गाउँपालिका वडा नं. ६ पिप्रहवाका राजकुमार लोनियाको ‘स्टेज–४ बी’ मा पुगेको मुखको क्यान्सरको सफल अप्रेसन गरेको हो।

चिकित्सकहरुका अनुसार यो ठूलो सफलता हो।अस्पतालका हेड डा. ऋषिकेश ठाकुरले करिब आठ घण्टा लगाएर लोनियाको अप्रेसन गरेको बताउनुभयो । लखनउको अस्पतालले धेरै पैसा लाग्ने र निको हुने ग्यारेन्टी नभएको बताएपछि लोनिया खजुरा क्यान्सर अस्पतालमा आउनुभएको थियो । अस्पताल आएको १२ औँ दिन लोनिया सफल अप्रेसन गरेर घर फर्किएका छन्।

मुख तथा अनुहारका सर्जन डा. शैलेश गौतमका अनुसार लोनियाको घाउले छाला र हड्डी समातिसकेको थियो। मुख बन्द भइसकेको थियो। घाटीसम्म फैलिएको थियो। बंगाराको हड्डी र आँखा तलको हड्डी फालेर लोनियाको गालामा छातीको मासु निकालेर लगाइएको छ। डा. गौतमले भन्नुभयोे, ‘यो चरणमा पुगेको क्यान्सरलाई स्केज ४ बी भनिन्छ। स्टेज ४ ‘सी’मा पुगेपछि अप्रेसन गर्न मिल्दैन।’

नेपालका ठूला अस्पतालले दिने सेवा खजुरा क्यान्सर अस्पतालले दिएको छ। यो अप्रेसन गर्न पर्याप्त पूर्वाधार र सामान चाहिन्छ। यो चरणको क्यान्सरको अप्रेसन गर्दा चार लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकहरु बताउँछन्।

डा. ठाकुरले खजुरामा योसहित थाइराइडका ठूला दुई वटा अप्रेसन गरेको बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले खजुरामा अहिले क्यान्सरका जटिल अप्रेसनहरु भइरहेको बताउनुभयो ।

  • २४ मंसिर २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech