नेपालगन्जः कोहलपुर नगरपालिका-१० रामजानकी स्कुल आसपासमा मानिसहरुलाई टोक्दै हिड्ने कुकुरलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोहलपुर नगरपालिका पशु सेवा केन्द्र, इस्ट्रिक एनिमल नेपाल, नेपालगन्ज एनिमल रेस्क्यु टिमलगायतको सहयोग र सहकार्यमा नगर प्रहरीले उक्त कुकुरलाई नियन्त्रणमा लिएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो । स्कुले विद्यार्थीसहित स्थानीय ७-८ जनाले टोकेपछि स्थानीयबासी त्रसित भएका थिए ।
कुकुरलाई लठ्याएर नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको कुकुरलाई पशु सेवा केन्द्रमा राखिएको कोहलपुर नगरपालिकाका पशु सेवा केन्द्र प्रमुख गोविन्द रोकायले जानकारी दिनुभयो ।उक्त कुकुरमा रेविज भए नभएको पुष्टि गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
‘नियन्त्रणमा लिइएको कुकुर केन्द्रमा राखिएको छ उहाँले भन्नुभयो–‘यसले व्यक्त गर्ने लक्षण चिन्हका आधारमा रेविज भएनभएको हेर्छौं शंका लागे परीक्षणका लागि नमुना जाँचको प्रक्रिया थाल्छौं ।’ बौलाएको कुकुरले जथाभावी मानिसहरुलाई टोक्न थालेपछि स्थानीयबासीले नगर प्रहरीलाई गुहारेका थिए ।