पछिल्लो समय डेंगीको प्रकोप बढ्दै गएको छ । यो रोग ७६ वटै जिल्लामा फैलिएको पुष्टि भइसकेको छ । नेपालमा हरेक दुई–तीन वर्षको अन्तरालमा डेंगी रोगको प्रकोप देखा पर्ने गर्छ । सन् २०१९ मा यो रोगको प्रकोपबाट १७ हजारभन्दा बढी प्रभावित भएका थिए भने छ जनाको मृत्यु भएको थियो । भाइरोलोजिस्ट लुना भट्टसँग गरिएको सम्पादित अंश:
डेंगीको जोखिममा को बढी पर्छन् ?
पहिला डेंगी भइसकेका, यो रोग लागेका आमाबाट जन्मिएका बच्चा, पाँच वर्षभन्दा कम उमेरका बालबालिका, रोगी र रोग प्रतिरोधात्मक क्ष्ँमता कम भएकाहरू उच्च जोखिममा पर्छन् । पहिला डेंगी भएका आमाबाट एन्टीबडी बच्चामा जान्छ । आमाको एन्टीबडीले गर्दा उनका बच्चाहरूमा जटिलता आउन सक्छ ।
डेंगी लागेपछि के–कस्ता लक्षण देखिन सक्छन् ?
सामान्य लक्षण ज्वरो, रुघाखोकी हुन् । यसको विशेष लक्षण भनेको आँखाको पछाडिको हड्डी (इन्ट्राअरविटल) को भागमा दुख्ने हो । साथै, शरीर असाध्यै दुख्ने, बान्ता हुने, एलर्जी आउने हुन्छ । यतिबेला आउने एलर्जी फरक खालको हुन्छ । रातोमा सेतो दानाजस्तो देखिन्छ ।
यसका कडा लक्षण के–के हुन् ? यसको जटिलताबारे कसरी थाहा पाउन सकिन्छ ?
प्लाज्मा पातलो हुन्छ । यसको कमी हुनुका साथै लिकेज भएर जान्छ । त्यसपछि शरीरमा नीलो दाग देखिने वा छु“दा नीलो हुने हुन्छ । दिसा–पिसाबबाट रगत जान्छ । महिलामा महिनावारी नहुने समयमा पनि महिनावारी भएजसरी रगत बग्न सक्छ ।
यसको जोखिम कतिबेला बढी हुन्छ ?
यसका चार वटा सेरोटाइप्ड हुन्छन् । डेंगी १, २, ३ र ४ । मानौं पहिलो डेंगी–१ ले संक्रमण गरेको छ र पछि पनि १ ले नै संक्रमण गरेमा त्यसले असर पार्दैन । किनभने शरीरमा यस विरुद्धको एन्टीबडी बनिसकेको हुन्छ । तर, पहिला १ र पछि २ वा अन्यले संक्रमण भएको छ भने जटिलता आउन सक्छ । यो भाइरस शरीरभित्र प्रवेश गरेपछि एन्टीबडीलाई समातेर ‘इम्युन सेल्स’ भित्र छिरेर जटिलता फैलिन्छ । यो प्रक्रियालाई ‘एन्टीबडी डिपेन्डेड इनह्यासमेन्ट–एडीई’ भनिन्छ ।
यसको ‘इन्कुबेसन पिरियड’ कति समयसम्म रहन्छ ?
लक्षण देखिन थालेको एक सातादेखि १० दिनसम्म उच्च ज्वरो आउँछ । त्यसपछि केही दिन (सातासम्म पनि हुनसक्छ) घटेर ज्वरो पुनः ‘पिक आवर’ मा पुग्छ । यसलाई ‘बाइफेजिक फिबर’ भनिन्छ । यो सामान्यतया १५ दिनसम्म रहन्छ ।
शरीरले एन्टीबडी बनाउन कति समय लाग्छ ?
पहिले ‘आईयुएम’ बन्छ । यो साता दिनमै बन्छ । ‘आईजीजी’ भने विस्तारै बन्छ । यो बनेपछि जीवनभरलाई रहन्छ ।
डेंगी लागेपछि के गर्नुपर्छ?
डेंगीको लक्षण देखिन थालेपछि यसको लक्षणअनुसारको उपचार गर्नुपर्छ । तर, थप जटिलता नआओस् भनेर ‘एनएसवान’ टेस्ट भने गर्नैपर्छ । स्व–उपचार गर्नुभन्दा चिकित्सकको परामर्श लिनुपर्छ ।