डाक्टरसाब, तपाईं कुन पार्टीको ?

    • आयास लुइँटेल

  • ६ मंसिर २०७९, मंगलवार

‘नमस्कार डाक्टरसाब! बिरामी जाँच्न कति बजेदेखि थाल्नुहुन्छ?’

अघिल्लो दिनको थकाइ र आधा रातसम्म दोहोरी एवं नाचगानपछि सुतिएको थियो। सबेरै आँखा खुलेन। नौ बजे उठेर आँगनमा ओर्लिनासाथ मलाई माथिको प्रश्न सोधिएको थियो। मुखमा पतञ्जली ‘हन्ड्रेड पर्सेन्ट आयुर्वेदिक’ दन्तमंजन लेपेको बुरुस हुलेर दाँत माझ्दै म प्रश्नकर्ता पुरुषलाई तलदेखि माथिसम्म हेर्छु।

अनुहार फुंग उडेको छ। निधारमा मुजा परेका छन्। कञ्चट पसिनाले भिजेको छ। ऊ मलाई हेर्दै छ। म दाँत घोट्दै छु। निधारबाट तर्तर पसिना बगिरहेको त्यो लिखुरे ज्यानको मनुवालाई हल्का साइडमा हट्ने इसारा गर्दै म नजिकैको रछ्यानमा थुक्छु– हाक् थु!

‘लौ हेर, यति चाँडो आएर किन हतारो पार्नुभएको हो हामीलाई? हामी त दस नबजी सुरू गर्दैनम्! भर्खर त नौ बज्दै छ,’ धारामा मुख धुँदै गरेकी सिस्टर एक सासमा आफ्नो कुरा राख्छिन्।

लिखुरे ज्यानको मनुवा बोल्छ– काठमान्डुदेखि हेल्थ क्याम्पमा बडा-बडा डाक्टरसाबहरू आउनु भा’छ सुनेर सबेरै उठेर हिँडेको। तन्नेरी तिघ्रेहरूलाई दुई घन्टा लाग्छ। म बुढोलाई तीन घन्टा लाग्यो आइपुग्न!

उनको यस्तो कुरा सुनेर अघिल्लो दिन एक घन्टाको तेर्सो बाटो ठसठस् कन्दै र स्याँस्याँ गर्दै हिँडेकी मेरी मोटी साथीलाई हेरेर म हाँसेझैं गर्छु। ऊ मलाई रिसले बडा-बडा आँखा पल्टाउँछे। कसैले मोटी भनेर जिस्काउँदा उसलाई धेरै रिस उठ्छ। हुन पनि कसैलाई उसको शारीरिक बनावटका आधारमा टिप्पणी गर्नु वा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा छेडखानी गर्नु हिंसा नै हो।

तर मान्छेको जात जब्बर अट्टेरी। जे नगर् भन्यो, जे ठीक होइन भन्यो, त्यही गर्न मन लाग्ने। कालबहादुरलाई ‘काले’ भन्दा कम्ती मज्जा आउँदैन हामीलाई। गोमाकुमारीलाई ‘गोमे’ भन्न पाउँदा छुट्टै स्वाद पाउँछ हाम्रो जिब्रोले। हाम्रो तालिम नै यस्तो छ!

बिहानी खाजा खाएर म, मेरी साथी र एक जना नर्स बिरामी जाँच्ने कोठामा पस्छौं। पहिलो नम्बरमा तिनै लिखुरे दाइको पालो छ। ढोका बाहिर बिरामीको घुइँचो छ। हेल्थ क्याम्पमा जचाउन आउँदा भेट्टिएका साथीसंगतीहरू एकआपसमा मच्चीमच्ची गफ चुटिरहेका देखिन्छन्।

पालो नम्बर एकका लिखुरे दाइ भित्र आएर हाम्रो टेबल अगाडि बस्छन्। बिचरा लिखुरे दाइको समस्या लिखुरे रहेनछ। वर्षौंदेखि अन्डकोष सुनिने रोग अर्थात् ‘हाइड्रोसिल’ बोकेर हिँडिरहेका रहेछन्। उनको हाइड्रोसिल हामीले अन्य बिरामीहरूमा देखेभन्दा ठूलो नै थियो। हिसाबले हाइड्रोसिलको शल्यक्रिया ज्यादै ठूलो चाहिँ होइन। स्रोतसाधन जुट्ने हो भने पूरा बेहोस नगरिकनै गर्न सकिन्छ। तर हाम्रो क्याम्पको दायरामा त्यो शल्यक्रिया पर्न कठिन थियो।

मैले साइडको लामो रजिष्टर कापीमा लिखुरे दाइको नाम टिप्न खोजेँ। झन्डैझन्डै लिखुरे नै लेखेको! तर उनको वास्तविक नाम थियो दिलबहादुर।

‘तपाईंको यो रोग अपरेसन नगरी ठीक हुँदैन। अपरेसन गर्न काठमाडौं बोलाउने छौं। खान, बस्न र अपरेसन खर्च अस्पतालले बेहोर्छ। आउजाउको चाँजोपाँजो चाहिँ तपाईंले आफैं मिलाउनुपर्छ है।’

म सरर लिखुरे दाइलाई आफ्ना कुराहरू भन्छु र बाहिर लाइन लागेको अर्को बिरामी भित्र पठाउन ट्रिङट्रिङ बज्ने घण्टी थिच्छु। लिखुरे दाइ नमस्कार गर्दै बाहिर निस्किन्छन्।

क्याम्पमा धेरै बिरामी छन्। एकजना बिरामीलाई धेरै समय दिन सकिँदैन। समय धेरै लगाए आधा रात पर्न सक्छ। जचाउन कुरिरहेका घर फर्कनुपर्ने बिरामीलाई पनि सास्ती, डाक्टरलाई पनि धपेडी।

हेल्थ क्याम्पमा खाना खाने ब्रेक दिउँसो १२ देखि १२:३० सम्म हो। जम्मा आधा घन्टा। एक घन्टा ब्रेक राख्न बिरामीको चापले नदिने अवस्था छ।

खाना बनाउने होटल साहुनीको मोबाइलमा ‘कुटुमा कुटु सुपारी दाना’ गाना बजिरहेको छ। भर्खरै भर्सिएको भात थालमा पस्किएर बाफ उडाउँदै मेरो सामुन्ने आइपुगेको छ। दाल रहरको छ अनि तरकारी बन्दा। थालको साइडमा टिम्मुर हालेको जिब्रो ट्ववाक्क पड्काउन मिल्ने धनियाँ र गोलभेँडाको पिरो अचार छ।

म खानाको मज्जा लिँदै थिएँ।

साइडबाट कोही बोल्यो- डाक्टरसाबहरूको रिसानी माफ होस्! यो चुनावको मुखमा हेल्थ क्याम्प गराउने साँच्चै कुन पार्टी हो?

यो प्रश्नले म लगायत साथीहरू एकैछिन त झस्कियौं। तर प्रश्न अनपेक्षित थिएन। हेल्थ क्याम्प आउनुअघि यी र यस्ता खाले प्रश्न आउन सक्छन् भन्ने हाम्रो टिमको पूर्वानुमान थियो।

हुन त बाटोको ढुंगालाई पनि ‘ए ढुंगा, कुन पार्टीको ढुंगा होस् तँ’ भनेर सोधिने कालबेला छ। यस्तो समयमा गाउँमा हेल्थ क्याम्प कुन उद्देश्य लिएर आइयो भनेर चासो र चिन्तन हुनु स्वाभाविक थियो। चुनावको सँघारमा गरिएको क्याम्पलाई राजनीतिक रङ पोत्न खोजिनु सामान्य हो भनेर हाम्रो टिमले राम्ररी बुझेका थियौं।

तर सत्य अलि फरक थियो। कुनै पार्टीद्वारा प्रायोजित वा प्रभावितभन्दा पनि एउटा विदेशी अस्पतालको सहकार्यमा हेल्थ क्याम्प आयोजना गरिएको थियो।

केही समयअघि ललितपुर, झम्सिखेलको एउटा कफी सपमा मेरो एक जना इञ्जिनियर साथीले अमेरिकानो कफी पिउँदै मलाई सोधेको थियो– साँच्चै तँ कुन पार्टीको डाक्टर होस्?

उसलाई उत्तर दिँदै मैले भनेको थिएँ– मलाई थाहा छैन म कुन पार्टीको डाक्टर हो। सायद मैले ढिलो गरी सकेको पनि हुन सक्छ कुनै कित्तामा छुट्टिन। सायद कुनै दिन म कुन कित्ताको डाक्टर हो भनेर छुट्टिने दिन पनि आउन सक्छ। जीवन भन्नु नै आखिर सम्भावनाको अर्को नाम न हो!

मेरो यस्तो कुरा सुनेर चुस्की मारेको कफी घुटुक्क निल्दै ऊ बोलेथ्यो- हो यार! यो देशमा शुद्ध प्रोफेसनल अर्थात् पेसाकर्मी मात्रै बनेर बस्न सक्छु भन्नु त मूर्खता मात्रै हो। अब तँ आफैं हेर् न! आफूलाई स्वतन्त्र भन्नेहरू त मिलेर स्वतन्त्र पार्टी बनाइसके। एक्लो मान्छेलाई त अन्त्यमा फाल्टु र पंगु बनाएरै छाड्ने सिस्टम जो छ हाम्रो। कहीँ कतै फिट नहुने, कहीँ कतै काम नलाग्ने, अझ भनौ साँठगाँठ मिल्नेहरूको काममा तगारो बनेको आरोप लगाएर एक्ल्याइन्छ पेसाकर्मी मात्रै बनेर बस्छु भन्ने मान्छेलाई। अनि नबोकेर भयो त पार्टीको झन्डा! हुन पनि हरेक मानिसले आफ्नो राजनीतिक आस्था अनुरूप कुनै पार्टीको अढेसा लाग्नु नराम्रो पनि होइन। चाहे डाक्टर हुन् वा इञ्जिनियर वा शिक्षक!’

उसको कुरा सुनेर मैले कफी सक्दै भनेको थिएँ– मलाई त बिरामी पार्टीको मात्रै डाक्टर बन्न मन हो। तर हेर्दै जाऊँ, भविष्यले के माग्छ?

मैले वाक्य सक्नासाथ ऊ एकपटक मुस्कुरायो र वेटरलाई बिल ल्याउन साउती गर्‍यो।

हेल्थ क्याम्पमा त्यो दिन साँझ ५ बजेसम्म सबै बिरामी हेरेर सकियो। हामीलाई त्यसै दिन काठमाडौंका लागि रवाना हुनु थियो। सामानहरू प्याक गरेर गाडीमा राख्न थाल्यौं। क्याम्प हामीले एउटा विद्यालयमा गरेका थियौं। त्यहाँका प्रधानाध्यापक, शिक्षक तथा अन्य सहयोगीहरूलाई धन्यवाद दिँदै हामीले बिदा माग्यौं।

कच्ची बाटो, झन् त्यसमाथि टिपरले बिगारेको! हामी चढेको टाटासुमोको ड्राइभरलाई गाडी हाँक्न हम्मेहम्मे परिरहेको थियो।

ड्राइभर भन्दै थिए– हेर्नुस्, यो ठाउँले ३० वर्षमा ३० जना नेता जन्मायो होला, कति त मन्त्री नै बने। तर यो बाटो पिच गरेर गतिलो बनाउने नेता कोही जन्मेनन्।

यति बोलेर हिलोमा चिप्लिन लागेको गाडीको ब्रेक घ्याच्च थिचेर डाइभर थप झोँक्किए- साला! सबै चोरैचोर!

लगभग आधा घन्टा तेर्सो बाटो गाडी गुडेपछि दिउँसो हेल्थ क्याम्पमा जचाउन आएका मान्छेहरूको लर्कन हामीले देख्यौं। उनीहरू घर फर्किँदै थिए। उनीहरूमध्ये अघि जाँचेको उनै लिखुरे दाइ पनि थिए। हाम्रो गाडीलाई बाटो दिँदै हिँडिरहेका ती मानिस डिलमा उक्लिए।

मैले ड्राइभरलाई गाडी रोक्न भनेँ र साउती गरेर ती लिखुरे दाइलाई गाडीको झ्यालतिर बोलाएँ।

‘दिलबहादुर दाइ, काठमाडौं आउनुस् है अपरेसन गराउन,’ मेरो यो भनाइमा लिखुरे दाइ फिस्स हाँसे मात्र। केही बोलेनन्। हाम्रो गाडी अगाडि बढ्यो।

म टाटा सुमोको पछाडि सिसाबाट हामीले छाडेको त्यो गाउँ र ती मानिसहरूलाई हेरिरहेको थिएँ। हातमा लालीगुराँस फूल लिएका दुई केटाकेटी हामीलाई हात हल्लाइ-हल्लाइ बाइबाइ गरिरहेका थिए। अलि वयस्क मान्छेहरूसँगै उभिएका हाम्रा लिखुरे दाइ भने मौन नै थिए।

लिखुरे दाइको त्यो भावभंगीमा देखेर मलाई म सानो छँदा स्कुल जाने बाटोमा देख्ने गरेको मसलाको रूखको याद आयो। रूख ठूलो थियो, बूढो थियो र बाटोको बीचमा ठिंग उभिएको थियो। रूखमा जीवन त थियो तर ठूलो अपेक्षा केही थिएन, कसैसँग ठूलो सिकायत केही थिएन। उभिनु रूखको धर्म र कुर्नु उसको नियति!

लाग्दै थियो- विगतमा अनेकौं सपना देखाउनेहरूले उनीहरूका सपना पूरा गरिदिएनन्। सायद अपरेसन गराइदिने हाम्रो वाचा पनि उही पूरा नहुने सपनाझैं लागेको हुँदो हो लिखुरे दाइलाई।

वर्षौंदेखि कायम रहेको ‘सपना देख्ने’ र ‘सपना टुट्ने’ यो शृंखलाले गर्दा आज उनीहरू विक्षिप्त छन् र सायद यसैले पनि हरकोही सपना देखाउन खोज्नेहरूलाई उनीहरू घृणा गर्न थालेका छन्।

सुमो ड्राइभरले सानो आवाजमा बजिरहेको क्यासेट प्लेयरको नाक बटारे। सुमोभित्र प्रकाश सपूतको गाना घन्कियो। गाडीभित्रका सबैजसोलाई मनपर्ने र आउने गीत हो यो। सबै सँगसँगै गाउँदै पनि छन्।

म सोच्दै थिएँ- वाह! क्या देखे सपूतले, क्या लेखे सपूतले, क्या गाए सपूतले!

‘देश भन्नु त के रैछ र? चार किल्लाको माटो,

त्यही माटो नि उनकै मात्रै जो छन् टाठो-बाठो,

तिम्रो मयाँले मलाई पीर दियो!’

(डा. आयास लुइँटेल पाटन अस्पतालका आवासीय चिकित्सक हुन्।)

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech