जब कुनै खानेकुरा देख्छौं, हामीलाई खाउँखाउँ लाग्छ । मुखमा पानी आउँछ । स्वाद मानीमानी खाइदिन्छौं । तर के खानेकुरा कस्तो थियो ? स्वास्थ्यका लागि ठीक थियो वा थिएन ? यसबारे हाम्रो पटक्कै ध्यान जाँदैन । हामीलाई त आँखाले हेर्दा आकर्षक लाग्ने र मन लोभ्याउने खानेकुरा भए पुग्छ । यसरी जिब्रोले मागेको खानेकुरा हामी यसरी खाइदिन्छौं कि ‘जे आउँछ मज्जाले पचाउँछ’ भने जसरी ।
तर हाम्रो शरीरको पचाउने प्रणाली फरक छ । हामीले खाएको खानेकुरालाई पचाउनका लागि पाचनयन्त्रले अतिरिक्त काम गर्नुपर्ने हुन्छ । आखिर कस्तो हुन्छ हाम्रो पाचन प्रणाली ? कसरी खाएको कुरा पचाउने काम हुन्छ ?
पाचन प्रणालीले कसरी काम गर्छ ?
यो इन्जाइम खानासँग घुल्छ । यसमा जिब्रोले खास भूमिका खेल्छ । यी खानेकुरालाई जिब्रोकै सहायताले खाना नलीसम्म पुर्याउँछ ।
अब खाना सोझै भूँडीमा पुग्छ । यी खानेकुरा एकदेखि डेढ घण्टासम्म पेटमै रहन्छ । पेटमा अम्ल पैदा हुन्छ, जुन खानेकुरासँग घुल्न थाल्छ । पेटको मांसपेशीले यी खानेकुरालाई राम्ररी घुल्ने काम गर्छ । यसलाई क्राइन भनिन्छ ।
क्रमशः पेटमा हुने क्राइन सानो आन्द्रामा पुग्छ । सानो आन्द्रामा तीन वटा भाग हुन्छ–डुओडिनुम, जेजुनुम, आइलिएक । अन्द्राको भित्री तहमा यी तीन भाग र अन्नाशयबाट पनि खाना पचाउने इन्जाइमहरु निस्कन्छन् ।
अब खाना कलेजोमा पुग्छ, जहाँ पित्तथैलीबाट पैदा हुने पितमा खाना घुलिन्छ । पित आवश्यकता अनुसार मात्र निस्कन्छ । यसपछि खाना ठूलो आन्द्रामा पुग्छ । त्यहाँसम्म पुग्दा खानाबाट धेरै पोषकतत्व शरीरले लिइसकेको हुन्छ ।
बाँकी रहेका पदार्थ मलाशयमा जम्मा हुन्छ, सो समयमा मान्छेलाई दिसा लाग्छ ।
कुन बेला भोक लागेको महसुस हुन्छ ?
जति बढी हाम्रो ऊर्जा सकिन्छ, त्यति हामीलाई भोक लाग्न सक्छ । कुनै काम वा व्यायामम शक्ति खर्च हुन्छ भने पनि छिटो हामीलाई भोकको अनुभव हुन्छ । त्यो पूर्ति खानेकुराले गर्ने गर्छ । कमी भएको खण्डमा भोक नलाग्ने हुनसक्छ । भोक नै नलागे पनि खानेकुरा र पानी समय–समयमा खाइराख्नुपर्छ । पटक–पटक भोक लाग्नु मधुमेह जस्ता रोगको सुरुवाती चरण पनि हुनसक्छ ।
अम्ल हाम्रो पेटमा भइराख्ने तत्व हो । भोक लागेको अवस्थामा खानेकुराको बास्ना आयो वा खानेकुरा खाँदैछु भन्ने सोच मात्र आयो भने पनि अम्ल उत्पादन वृद्धि हुँदै आउँछ ।
खानेकुराको रसायनिक प्रतिक्रिया
खानेकुरामा फ्याट, कार्बोहाइड्रेट, प्रोटिन समावेश हुन्छ । प्रोटिनले एमिनो एसिड बनाउने गर्छ, जुन शरीरले सोसेर रगतसम्म पुर्याउँछ । त्यस्तै अग्नाशयले चिप्सिङ इन्जाइम बनाउँछ । अरु इन्जाइमहरुले पनि निस्केर प्रोटिन एमिनो एसिडमा टुक्रिन्छ । बोसोयुक्त खानेकुरा खाएपछि पित्तथैलीबाट लिक भइसकेपछि अग्नाशयबाट अरु इन्जाइम निस्कन्छ । त्यसले पनि फ्याटी एसिडमा टुक्राउँछ, जुन शरीरले सोस्ने काम हुन्छ । कार्बोहाइड्रेट चिनीमा परिणत हुन्छ र त्यसलाई शरीरले आवश्यकता अनुसार लिने गर्छ ।
खराब खानेकुरा पेटमा पुगेपछि
शरीरले खराब खानेकुरालाई दुई भागमा विभाजित गर्छ । शरीरले सहन नसक्ने, जुन धेरै अमिलो, पिरो, चिल्लो हुन्छ । यसले शरीरमा एसिडको मात्रा बढाएर एसिडिटी हुने, पेट पोल्ने गर्छ । अर्को भनेको सडेगलेको, बासी खानेकुरा । यसले शरीरमा बिकार पैदा गर्छ । विभिन्न संक्रमण हुने, पखाला लाग्ने कारण यस्तै खानेकुराले गर्दा हो ।
आमाशयको काम
आमाशयको मुख्य काम भनेको हामीले निलिसकेको खानेकुरालाई भण्डारण गर्ने, त्यहाँ भएका एसिड र टक्सिनलाई मिसाउने, समय–समयमा थोरै मात्रामा खानेकुरा सानो आन्द्रामा पठाउने हो, ताकि त्यो खानेकुरा सानो आन्द्रामा पुगेपछि राम्ररी पचाउन सकियोस् ।
शरीरलाई जरुरी पोषकतत्व
शरीरलाई दैनिक रुपमा खानाको माध्यमबाट कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन, फ्याट, मिनरल चाहिन्छ । यसले शरीर सञ्चालन गर्ने, शक्ति दिने, शरीरको विकास गर्ने जस्ता भूमिका खेल्छ । तर यी तत्व कति मात्रामा चाहिन्छ भन्ने कुरा मान्छेको उमेर र स्वास्थ्य स्थिति हेरेर निर्धारण हुन्छ । सामान्यतः मान्छेलाई दैनिक दुई हजार क्यालोरी भए पुग्छ । जबकि गर्भवती बालबच्चालाई यो भन्दा बढी क्यालोरी चाहिन्छ ।
पोषकतत्व यसरी पुग्छ शरीरका कोषमा
खानेकुरा पचिसकेपछि त्यो सुगरमा रुपान्तरण हुन्छ । त्यही सानो आन्द्रामा रहेका रगतका धमनीहरुबाट हाम्रो शरीरको कोषहरुमा पुग्छ । प्रयोगमा नआएका तत्वहरु भने कलेजोमा पुगेर भण्डारण हुन्छ, जुन आवश्यक परेको बेला शरीरले प्रयोगमा ल्याउँछ ।
पाचनयन्त्र चुस्त बनाउने काइदा
पाचनयन्त्रलाई स्वस्थ बनाउन सही, ताजा, सन्तुलित, सुपाच्य खानेकुरा खानु जरुरी छ । शरीरलाई जरुरी पोषकतत्व भिन्नभिन्नै खानामा पाइन्छ । त्यसैले यी फरक–फरक खानेकुरा खानु उपयुक्त हुन्छ, ताकि सबै किसिमको पोषकतत्व प्राप्त होस् ।
धेरै मान्छेले स्वस्थ रहन मुख बार्ने गर्छन् । तर कुनै पनि खानेकुरा खाँदैमा त्यसले न त धेरै फाइदा गर्छ न त धेरै हानि नै । शरीरको माग अनुसार सही खानेकुरा खान डराउनु पर्दैन । यदि कुनै रोग लागेको अवस्था छ भने त्यही अनुरुप खानपान तालिका निर्धारण गर्न सकिन्छ ।
स्वस्थ खानासँगै व्यायाम एक अनिवार्य हुन्छ । व्यायामले पाचनयन्त्रलाई बलियो र चुस्त बनाउन सहयोग गर्छ । खानेकुरा राम्ररी पचाउन व्यायाम गर्नुपर्छ ।