नेपालगन्जः आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गर्नुभएको छ । स्रोतका अनुसार दूतराजले आइतबार राति आत्महत्या प्रयास गर्नु भएको थियो । तर, अष्ट्रेलियामा रहेका दूतराजले आज एकाबिहानै लेख्नुभएको छ, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि ?’
आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि बताउनुभएको छ ।‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको, ‘ यसलाई रोग भनु या मेरो विशेषता ?’ यही कारणले पनि आफूले आफैंलाई दुःखी बनाउने गरेको उहाँको भनाइ छ ।
उहाँले समाचारपछि आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो गर्नु भएको छ। ‘समाचार पढें असजिलो महसुस भयो, ‘ उहाँले अघि लेख्नु भएको छ, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो – सानो दुःखले जन्माएको हुर्काएको होइनौं नि तिमीहरूलाई ?’
गलत बुझाइका कारण समाचार आएको दाबी दूतराजको छ । र, त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उहाँले अन्तिममा लेख्नु भएको, ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई ?’
अहिले गायक दूतराज सांगीतिक कार्यक्रममा अष्ट्रेलियामा रहनु भएको छ। अष्ट्रेलियामै रहेका बेला होटेलमै आत्महत्या प्रयास गरेको समाचार आएको हो । स्रोतका अनुसार दुराज मानसिक समस्याबाट पीडित रहेको बताइएको छ ।