लाइसेन्स परीक्षामा फेल हुने डाक्टरलाई स्वास्थ्यकै अन्य पेशा गर्न दिने तयारी

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०७९, सोमबार

नेपालगन्जः ६ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि नेपाल मेडिकल काउन्सिलले लिने ‘लाइसेन्स’ परीक्षामा डाक्टरहरु धेरै पटक फेल हुने गरेका छन् ।

धेरै डाक्टर पटक–पटक फेल हुन थालेपछि काउन्सिलले एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा दिन नपर्ने व्यवस्था ल्याउन लागेको छ ।

एमबीबीएस तथा र बीडीएस उत्तीर्ण भएका तर भविष्यमा चिकित्सा पेसा गर्न नचाहनेलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ ।

मेडिकल काउन्सिलकको तथ्यांक अनुसार १० औँ, २०औँ पटकसम्म ‘लाइसेन्स’ परीक्षा दिएर पनि अनुत्तीर्ण भएका विद्यार्थी १ हजार १ सयभन्दा माथि छन् ।

लाइसेन्स परीक्षामा उत्तीर्ण हुन नसक्नेलाई बिरामी जाँच, परीक्षणजस्ता उपचार गर्नु नपर्ने, स्वास्थ्यसँग सम्बन्धित विषयमा स्नातकोत्तर अध्ययन गर्न दिने प्रक्रिया अगाडि बढाएको रजिस्ट्रार एवं प्रवक्ता डा कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

‘यस्तो व्यवस्था नेपाल, भारत, पाकिस्तानबाहेक थुप्रै मुलुकमा छ । हामी पनि आउने वर्षदेखि लाइसेन्स परीक्षालाई अनिवार्य नगर्ने पक्षमा छौं’, उहाँले भन्नुभयो ‘एमबीबीएस उत्तीर्णले चिकित्सकीय काम नगर्ने हो भने, उनीहरूको शैक्षिक प्रमाणपत्रलाई स्नातकसरह मान्यता दिएर स्नातकोत्तर अध्ययनका लागि व्यवस्था गर्न लागिएको हो ।’

हाल एमबीबीएस पास गरेका विद्यार्थीले लाइसेन्स परीक्षा पास नगरी अन्य कुनै संकायमा थप अध्ययन गर्न पाउँदैनन् । त्यसैगरी, लाइसेन्स पास नगरेका चिकित्सकले बिरामी जाँच्न पाउँदैनन् ।

लाइसेन्स परीक्षामा अनुत्तीर्णहरूका लागि यो व्यवस्था एउटा राम्रो निकास हुने काउन्सिलका अध्यक्ष प्रा.डा भगवान कोइरालाको भनाइ छ । ‘लाइसेन्स पास गरेको भए त क्लिनिकल प्राक्टिस गर्न पाउँथे । धेरै पटक लाइसेन्स परीक्षामा फेल भएकाले उनीहरुको भविष्य मध्यनजर गर्दै यस्तो व्यवस्था गर्न लागिएको हो’, डा। कोइरालाले थभन्नुभयो, ‘क्लिनिकल प्राक्टिस गर्न पो मिलेन, पब्लिक हेल्थ लगायत तथा अन्य विधातर्फ जान सक्छन् नि ?’

लाइसेन्स परीक्षा अनुत्तीर्ण विद्यार्थीले एमपीएच, एमपीए, हस्पिटल व्यवस्थापन लगायतका बिषय लिएर आफ्नो करिअर परिर्वतन गर्नसक्ने डा कोइरालाको भनाइ छ ।

उहाँले मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा फेल भएका विद्यार्थीका लागि भविष्यको बाटो खोल्न विश्वविद्यालय, स्वास्थ्य व्यवसायी परिषद् लगायतका निकायसँग समन्वय भइरहेको उल्लेख गर्नुभयो ।

  • २१ कार्तिक २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech