गर्भवती र सुत्केरीको खाना र पोषणमा बढी ध्यान दिनुपर्छ । यो अवस्थामा कसै–कसैलाई खाना रुच्दैन । अमिलो खान मन लाग्न सक्छ । अमिलोका लागि कागती, अमला दिन सकिन्छ । घरमा बनाएको अचार दिन सकिन्छ । आलस एवं तिल आदिको छोप बनाएर दिनुपर्छ । कतिपय ठाउँमा गर्भवतीलाई केरा–दूधजस्ता पौष्टिक पदार्थ खान दिइन्न, यो गलत चलन हो । कतिपय ठाउँमा गर्भवतीलाई नातेदारले बोलाएर ख्वाउने चलन छ । यस्तो बेलामा उनीहरूलाई मन पर्ने र सहजै पच्ने परिकार दिनुपर्छ । गर्भवतीले पौष्टिक खाना खाए शिशु पनि स्वस्थ हुन्छन् । गर्भवतीमा रगतको कमी भए स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ । गर्भवतीलाई रक्तअल्पता हुन नदिन भोजन र आराममा ध्यान दिनुपर्छ ।
चामल, गहुँ, कोदो, फापर, पुवा, सिमी, हरियो तरकारी आदि प्रत्येक दिन खानुपर्छ । गर्भवतीलाई प्रोटिन चाहिन्छ । यी अन्नमा पनि केही प्रोटिन पाइन्छ । तर, प्रोटिनको मुख्य स्रोत गेडागुडी, दाल, अण्डा, मासु हुन् । माछा, मासु खान मन नलाग्ने महिलालाई प्रोटिनका लागि उमारेका गेडागुडी उत्तम मानिन्छ । यी खानेकुरामा आइरन तत्व पनि पाइन्छ ।
यस्ता खानेकुरा खाँदा भिटामिन ‘सी’ भएका खानेकुरासँग खानुपर्छ । यसले शरीरमा आइरन तत्व राम्रोसँग शोषण हुन्छ । गर्भावस्थामा क्याल्सियमको बढी जरुरत पर्छ । अस्पतालमा दिने क्याल्सियम चक्की भन्दा घरेलु खानामा पाइने क्याल्सियममा बढी ध्यान दिनुपर्छ । आलस, तिल, भटमास, राजमा आदिमा क्याल्सियम पाइन्छ ।
गर्भवतीले चिनी, केक, कोक, फ्यान्टा एवं बट्टाको फलफूलको रस खानु हुँदैन । चिनी पनि दिनमा तीन चम्चाभन्दा बढी खान हुँदैन । गर्भवतीले बट्टाका खानेकुरा हर्लिक्स, बोनभिटा आदि प्रयोग गर्नु हुँदैन । यसमा धेरै चिनी हुन्छ । यसको सट्टामा चना, अमला, कागती एवं स्थानीय फलफूल खान सकिन्छ । कोदोको हलुवा, फापरको रोटी, चामलको खीर, दालका विभिन्न परिकारबारा–सुप आदि बनाएर खान सकिन्छ ।
यो बेलामा उनीहरूलाई कब्जियत हुन सक्ने सम्भावना हुन्छ । कब्जियत भएपछि महिलालाई समस्या पार्न सक्छ । यसका लागि रेसादार तत्व भएकोहरियो तरकारी, मटर, काउली, पालुङ्गोको साग आदि खान दिनुपर्छ । त्यसैगरी आलस तिल, भम्किलो तिल आदिमा पनि पर्याप्त रेसादार तत्व पाइन्छ ।
विभिन्न फलफूल बोक्रासहित खानाले पनि रेसादार तत्व शरीरमा पुग्छ । गर्भवतीको खाने कुरा स्वस्थ हुनैपर्छ । यस्तो खानेकुरा सुत्केरी महिलालाई र घरपरिवारका सदस्यले खान दिन सक्छन् । गर्भवती र सुत्केरी महिलालाई शरीरमा लौह तत्व राम्रोसँग शोषण हुनुपर्छ । यसका लागि फलामको भाँडामा दाल–तरकारी पकाउन सकिन्छ । घरमा फलामको भाँडा छैन भने प्रेसरकुकरमा एउटा फलामको डल्लो हाल्न सकिन्छ ।
गर्भवतीलाई भिटामिन ‘ए’ को कमीले राति दृष्टि दोष र भ्रूणअस्वस्थ हुन सक्छ । यसका लागि फर्सी, मेवा र पहेंला तरकारी खानुपर्छ । गर्भवतीलाई ताजा मन पर्ने खाना दिनुपर्छ । हर्मोनको कारणले गर्भावस्थामा सुत्केरीलाई कब्जियतको समस्या हुन सक्छ । त्यसैले रेसादार तत्व पर्याप्त भएको खाना खानुपर्छ । पानी, दालको झोल, मोही, दूध एवं झोल पदार्थ पनि दिनुपर्छ ।
रेसादार तत्व भएका अन्नहरू जस्तो कोदो, फापर, पुवा आदि हुन् । त्यसैगरी हरियो तरकारी तथा फलफूलमा पनि रेसादार तत्व पाइन्छ । तर बट्टाको फलफूल खानु हुँदैन । यसमा धेरै चिनी हुन्छ ।
सुत्केरी भइसकेपछि ज्वानो, माछा–मासुको झोल आदि खाँदा आमाको शरीर तंग्रिन्छ । आमाको स्तनबाट दूध पनि बढी आउँछ । सुत्केरीमा तीन पटक चाकु र भात दिने चलन छ । यसले गर्दा मोटोपन बढ्न सक्छ । चाकु स्वास्थ्यका लागि राम्रो हो । यसमा पर्याप्त मात्रामा लौह तत्व र क्याल्सियम हुन्छ । यसले आमाको स्वास्थ्यलाई राम्रो गर्छ । तर दिनको तीन पटक खाँदा बेफाइदा गर्छ । कहिले भात र कहिले रोटी दिन सकिन्छ । गहुँ कोदो, फापर, भटमासको आटाको विभिन्न मिश्रित पिठोबाट बनेको रोटी धेरै स्वस्थकर हुन्छ ।
नेपालका विभिन्न जनजातिमा सुत्केरीलाई विशेष पकवान बनाइन्छ । यी पकवाहरूले शरीर छिटो तंग्रिन सहयोग गर्छन् । मेथी भिजाएर त्यसको खीर बनाई सुत्केरीलाई दिइन्छ । यसले गर्दा सुत्केरीलाई लौह तत्व पुग्छ । मेथीमा रेसादार तत्व पनि हुन्छ । त्यसले कब्जियत हुनबाट रोक्छ । त्यसैगरी मेथीको टुसा उमारेर कागती र नुन हालेर दिन सकिन्छ ।
पत्रु खाना खान दिनु हुँदैन । यस्ता प्याकेटका वस्तुमा धेरै नुन हुन्छ । यसमा प्रोटिन सूक्ष्म पोषक तत्व हुँदैन । रेसादार तत्व पनि हुँदैन । यस्तो खानाले सुत्केरीलाई हानि गर्छ । स्तनबाट राम्रोसँग दूध पनि आउँदैन । नुन बढी भएको खानाले सुत्केरीलाई समस्या पार्न सक्छ । स्वस्थकर खानाले यस्ता समस्या हुनबाट रोक्न सक्छ ।