नेपाल मेडिकल काउन्सिलले गर्‍यो १७ चिकित्सकलाई कारबाही, ४४ जनाविरुद्धको उजुरी अझै बाँकी

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७९, शुक्रबार

नेपालगन्ज: बिरामीको उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले पछिल्ला दुई वर्षमा १७ जना चिकित्सकलाई कारबाही गरेको छ ।

मेडिकल काउन्सिलको तथ्यांक अनुसार पछिल्ला दुई वर्षमा ६६ जनाविरुद्ध उजुरी परेको थियो ।

काउसिन्लका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीका अनुसार अझै छानबिनमा क्रममा ४४ वटा उजुरीहरु छन् ।

‘सबै चिकित्सकको उपचार सम्बन्धी काउन्सिलमा उजुरी परेका आधारमा १७ चिकित्सकलाई कारबाही गरिएको छ,’ अधिकारीले भन्नुभयो-‘छानबिनको क्रममा ४४ वटा उजुरी बाँकी छन् ।’

उजुरी परेका ५ केसहरु काउन्सिलले कारबाही गरिरहनु नपर्ने ठहर गरेको छ ।काउन्सिलका रजिष्ट्रार अधिकारीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा काउन्सिलमा ४६ वटा उजुरी थियो ।

यस्तै, काउन्सिलमा चालु आर्थिक वर्ष अर्थात आव २०७९/८० मा २० वटा उजुरी परेको थियो । उहाँका अनुसार कारबाही गरिएका चिकित्सकलाई उपचारमा भएको त्रुटिका आधारमा एक वर्षसम्म खास सेवा प्रदान गर्न रोकदेखि तीन महिनासम्म निलम्बन गरिएको छ ।

‘काउन्सिलमा पर्ने उजुरी चिकित्सकको गम्भीर लापरवाही तथा बिरामीलाई राम्रोसँग नहेरिएको भन्ने लगायतका विषयवस्तु हुने गर्छन् । त्यसमा उजुरीकर्ताले डाक्टरमाथि कारवाही र क्षतिपूर्तिको कुरा उल्लेख गरिएको हुन्छ,’ डा. अधिकारीले भन्नु भयो-‘उजुरी परेपछि विषय वस्तुको अध्ययन गरी ऐन,नियमको आधारमा कारबाही हुन्छ ।’

डाक्टरले जान्दाजान्दै आर्थिक प्रलोभन वा दबाबमा परेर आँखा नदेख्ने र खुट्टा सुकेका बिरामीलाई समेत निरोगिताको प्रमाणपत्र दिलाएको, नक्कली डाक्टर भएर काम गरेको, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि चलाएको जस्ता उजुरीहरु बढि पर्ने गरेको काउन्सिलले जनाएको छ ।

क्लिनिक देखि ठूला अस्पताल, सरकारी गैरसरकारी र निजी क्षेत्रका नयाँ देखि पुराना अस्पताल सबैमा कार्यरत चिकित्सकविरुद्ध उजुरी परेको डा. अधिकारीले बताउनुभयो।

स्वास्थ्य क्षेत्रमा भएको प्रविधिको विकास, विशेषज्ञ जनशक्तिको पर्याप्तता र स्वास्थ्य संस्थाको उचित व्यवस्थापनसँगै उपचारमा डाक्टरले गर्ने गल्ती घट्नुपर्ने जानुपर्ने हो ।

तर, यस्ता घटनाले बिरामीको चिकित्सकप्रति विश्वास घट्दै गएको देखिन्छ । जसका कारण अस्पताल तोडफोडदेखि चिकित्सकमाथि आक्रमणका घटना घटिरहेका छन् ।

  • २८ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech