नेपालगन्जः प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका डा कमल भुसाल (निकोलस)को उम्मेदवार खारेज भएको छ। निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज गरेको हो।
भुसालविरुद्ध दुई वटा उजुरी परेको थियो। उक्त उजुरीको छानबिन गर्दै आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै भुसालको उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।
डा भुसालविरुद्ध सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराउनुभएको थियो ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार जारी गरेको सूचनामा प्रतिनिधि सभामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका डा कमल भुसाल (निकोलस)को प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकोले उम्मेदवारी खारेज भएको उल्लेख छ ।
उहाँ विरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।
डा भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकोले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी दिइएको हो । डा भुसाल त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत स्नातकोत्तर तह अध्ययन गरिरहनु भएको छ ।