विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भन्निछ । लगभग ८५ प्रतिशत दम्पतीमा विवाहको पहिलो वर्षमै कोशिस गरेमा बच्चा हुने सफलता प्राप्त हुन्छ ।
यसमध्ये ७ प्रतिशत दम्पतीमा विवाहको दोस्रो वर्षमा बच्चा हुने सम्भावना रहने र बाँकी १५ प्रतिशतलाई बाँझोपनमा राख्न सकिने सिनियर गाइनोलोजिष्ट कन्सल्ट्यान्ट डा अनिषा अग्रवालको भनाइ छ ।
उहाँका अनुसार यी हुन् बाँझोपनका कारण
महिलाको महिनावारी गडबड हुनु– महिलाको महिनावारी करिब २१ देखि ३५ दिनसम्म हुनुपर्छ । कति जनामा ४५ दिनसम्ममा पनि महिनावारी नहुने हुन्छ । यसमा डिम्ब निष्काशनमा गडबडी हुनु मुख्य कारक हो, जस्तैः पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम । डिम्बवाहिनी नली बन्द हुनु – जसमा क्षयरोग एउटा मुख्य कारक हो । यस्तो इन्फेक्सनले शुक्रकिटको गतिविधिमा पनि पनि आउँछ र भ्रुण बस्न गाह्रो हुन्छ ।
पाठेघरको संक्रमण – यौन सम्पर्कबाट सर्ने रोग, क्ल्यामाइदिया, गोनोरहियाजस्ता संक्रमणले गर्दा पाठेघर, डिम्बवाहिनी नलीका इन्फेक्सन तथा इन्फ्लामेसन हुन्छ अनि डिम्बवाहिनी नली बन्द हुन जान्छ ।
पाठेघरको ट्युमर – पोलिप र फाइब्रोइद जस्ता ट्युमरले बच्चा बस्न दिँदैन अनि बाँझोपन हुन जान्छ ।
महिलाको बढ्दो उमेर – ३५ वर्ष माथिका महिलामा डिम्ब कम हुँदै जान्छ, जसका कारण बाँझोपनको समस्या देखापर्न जान्छ ।
जन्मजात पाठेघरको विकास नहुनु गर्भपतन – पहिलो शिशु नजन्माई गर्भपतन गराउनु अथवा बारम्बार गर्भपतन गराउनु, जसले गर्दा पाठेघर पातलो हुन जान्छ र पाठेघरको भित्ता एक–अर्कासँग टाँसिन जान्छ ।
पुरुषको वीर्यमा हुने शुक्रकिटको मात्रा कम हुनु (ओलिगो स्पर्मिया), शुक्रकिट स्वस्थ नहुनु वा शुक्रकिट नै नहुनु (एजोस्परमिया) । पुरुषको विर्यनलीमा सिस्ट, ट्युमर भएमा । पुरुषको गुप्तांगको विकास राम्रोसँग नभएमा ।
पुरुषमा सन्तान नहुने कारण
– वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी ।
– वीर्यमा शुक्रकीट उत्पादन नहुनु ।
– वीर्यमा संक्रमण ।
– शुक्राणुको बनावटमा खराबी ।
– हार्मोनमा गडबडी ।
– पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु ।
– शुक्रनली वा अन्य भागमा केही अवरोध हुनु ।
महिलामा सन्तान नहुने कारण
– अण्डाशयमा अण्डा नबन्ने अथवा थुप्रै स–साना डिम्ब बने पनि नबढ्ने ।
– पाठेघरको नली पूरै बन्द भए, पिप वा पानी जमे वा अण्डा पकडिने काम नभए ।
– पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुँदा ।
– हार्मोनमा गडबडी ।
– पाठेघरको झिल्लीमा मासु बढ्नु ।
– गर्भाशयको मुख ज्यादै सानो हुनु ।