नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका भित्रका एचआइभी संक्रमित बालबालिकाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना टुगेदर विइथ नेपाल र होप ब्रिजको सहकार्यमा ११ जना बालबालिकालाई पोषण सामाग्री वितरण गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राई र उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले ती बालबालिकाहरुलाई पोषण सामाग्री वितरण गर्नु भएको हो । चामल, दाल, तेल, अण्डासहित सम्पूर्ण सामाग्री रहेको उक्त पोषण सामाग्री एकजनालाई २ हजार ५ सय मूल्य बराबरको रहेको बस्नेतले बताउनुभयो ।
नगरपालिकाभित्रका एचआइभी संक्रमित १८ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर टुगेदर विइथ नेपाल र होप ब्रिजसँगको सहकार्यमा उपमहानगरपालिकाले पोषण सामाग्री वितरण गरेको हो । वितरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख राईले स्वास्थ्य समस्यासँग जुधिरहेका त्यस्ता बालबालिकाहरुको रोग प्रतिरोधात्मक क्षमतालाई समेत बढ्ने तयार पारिएको पोषण सामाग्री उनीहरुका लागि उपयोगी भएको बताउनुभयो ।
ती संघसंस्थाहरुसँग सहकार्य गरेर उपमहानगरपालिकाले संक्रमित बालबालिकाहरुलाई पोषणा सामाग्रीको यो अभियानलाई निरन्तरता दिने पनि जनाएको छ।