आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस। नेपालमा पनि ‘एक स्वास्थ्यको अवलम्बन, रेबिजबाट शून्य निधन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी रेबिज दिवस मनाइँदैछ। विश्व स्वास्थ्य संगठनको विश्वव्यापी रणनीतिक योजनाले सन् २०३० सम्ममा कुकुरको टोकाइले सर्ने रेबिजबाट हुने मानव मृत्युलाई शून्यमा पुर्याउने लक्ष्य राखेको छ। यसै सन्दर्भमा आउनुहोस् हाम्रो समाजमा रेबिज रोगका विषयमा भएका भ्रम र वैज्ञानिक तथ्यको विश्लेषण गरौं।
भ्रम–१: आक्रामक र मुखमा फिंज भएको कुकुर वा अन्य जनावरले टोकेमा रेबिज हुन्छ।
तथ्य: कुकुरले जब आफूलाई असुरक्षित र त्रसित महसुस गर्छ त्यतिबेला टोक्ने कुरा सामान्य हो। यो कुकुरहरूको प्राकृतिक बानी नै हो। तर रेबिज लागेको कुकुरहरूले कुनै पनि व्यक्तिलाई विना कारण पनि टोक्छन्। आक्रामक र मुखमा फिंज हुँदैमा रेबिज नै हो भन्ने कुरा पनि सत्य होइन। धेरैजसो रेबिज संक्रमित जनावरहरू आक्रामक हुने भए तापनि यसको विपरित केही जनावरहरू सुरुमा धेरै निष्क्रिय देखिन सक्छन्। ज्वरो र थकान जस्ता लक्षणहरू जनावर वा मानिसमा रेबिज भएको प्रारम्भिक संकेत हो। एक संक्रमित जनावरलाई उभिरहन गाह्रो हुन सक्छ साथै छारेरोग र पक्षघातबाट ग्रस्त हुन सक्छ।
भ्रम–२: टोकाइबाट मात्र रेबिज लाग्छ।
भ्रम–३ : घरमा मुसा वा खरायोले टोकेमा रेबिज हुन्छ।
तथ्य: मुसा र खरायोबाट मानिसमा रेबिज रोग विरलै हुन्छ। तसर्थ घरायसी खरायो र मुसाले टोकेमा टोकाइपश्चात् दिइने रेबिज विरुद्धको खोप आवश्यक पर्दैन। तर जंगली खरायो, मुसा वा मुसा प्रजातिका जनावरले टोकेमा सरुवा रोग विशेषज्ञको सल्लाहमा खोप लगाउन उपयुक्त हुन्छ।
भ्रम–४: रेबिज रोगको उपचार हुँदैन।
तथ्य: रेबिजको रोकथाम सम्भव छ। रेबिज रोग फैलन नदिन मानिस र जनावर दुवैका लागि खोपहरू उपलब्ध छन्। यदि तपाईंलाई रेबिज भएको शंका लागेको जनावरले टोकेको छ भने घाउलाई तुरुन्तै १०-१५ मिनेटसम्म साबुनपानीले राम्ररी सफा गरी टोकेको २४ घण्टाभित्र खोप लगाउनुपर्छ। तर रोगको लक्षण देखिसकेपछि भने रेबिज रोगको उपचार सम्भव छैन।
भ्रम–५: यदि मलाई खोप लगाएको कुकुरले टोकेको हो भने मलाई पोस्ट-एक्सपोजर मानव रेबिज खोप आवश्यक पर्दैन।
तथ्य: सैद्धान्तिक रूपमा यो कुरामा सत्यता रहेतापनि खोपको गुणस्तर, लगाएको समय, तरिका र कुकुरको शारीरिक अवस्था उपयुक्त नभएमा खोप लगाए पनि कुकुरमा रेबिज रोग देखिन सक्छ। त्यसैले कुकुरलाई रेबिज विरुद्धको खोप लगाइए पनि परामर्शको लागि चिकित्सककोमा जानुपर्छ। चिकित्सकले टोकेको घाउको मूल्याङ्कन गरेर पोस्ट-एक्सपोजर भ्याक्सिन आवश्यक छ कि छैन भनेर निर्क्योल गर्दछन्।
भ्रम–६: कतिपयले अझै पनि रेबिजको उपचारका लागि पेटमा २० वा सोभन्दा बढी खोप लगाउनुपर्दछ भन्ने सोच्दछन्।
तथ्य: आजको उपचार पद्धतिमा सामान्यतया अवस्था हेरी पाखुरमा टोकेको दिन, तेस्रो दिन र सातौं दिन गरी तीन पटक खोप लगाए पुग्दछ।
भ्रम–७ : मानिसमा रेबिज विरुद्धको खोप लगाउँदा मानिसहरू बिरामी हुने खतरा हुन्छ र स्मरण शक्तिमा समेत असर गर्छ।
तथ्य: पुरानो मानव खोपबाट केही साइड इफेक्टहरू थिए तर नयाँ मानव खोप जुन हाल उपलब्ध छ त्यसले साइड इफेक्ट गर्दैन।
भ्रम–८: घरपालुवा र बाहिर सम्पर्कमा नआउने कुकुर र बिरालाहरूलाई रेबिज विरुद्धको खोप लगाउन पर्दैन।
तथ्य: घरपालुवा कुकुरले पनि घरबाट लुकेर बाहिर निस्कने र छिमेकको जंगली जनावरबाट रेबिजको जोखिममा पर्न सक्छ। रेबिजबाट संक्रमित चमेरा वा अन्य सानो प्रकारका जंगली जनावर जुनसुकै बेला तपाईंको घरभित्र पसी तपाईंको कुकुरको सम्पर्कमा आएको हुनसक्छ। रेबिज एक प्राणघातक रोग भएकोले घरपालुवा र बाहिर सम्पर्कमा नआउने कुकुर र बिरालाहरूलाई रेबिज विरुद्धको खोप लगाउन उपयुक्त हुन्छ।
भ्रम–९: गर्भवती र स्तनपान महिलालाई रेबिज विरुद्धको खोप दिंदा बच्चाहरूमा नकारात्मक असर पर्दछ त्यसैले खोप लगाउन हुँदैन।
तथ्य: सबै आधुनिक खोपहरू निष्क्रिय, सुरक्षित र प्रभावकारी हुने भएकाले गर्भवती र स्तनपान माहिलाले रेबिज विरुद्धको खोप लिन मिल्छ र बच्चालाई कुनै असर गर्दैन।
भ्रम–१०: कम उमेरको कुकुरको बच्चाले टोक्दा खोप लगाउन पर्दैन।
तथ्य: रेबिज विरुद्धको खोप लगाइएको र रेबिज विरुद्ध लड्ने क्षमता पूर्ण रूपमा विकास भएको कुकुरबाट जन्मेको बच्चाहरूसँग कम्तीमा तीन महिनासम्मको उमेरको लागि रोगसँग लड्ने क्षमता माउबाट आएको हुन्छ। त्यसैले सामान्यतया तीन महिना भन्दा कम उमेरको कुकुरले टोक्दा खोप लिनुपर्दैन तर हामीले पालेको कुकुरको आमाबारे हामीलाई धेरै जानकारी नहुने हुँदा कम उमेरको बच्चा कुकुरले टोके पनि रेबिज विरुद्धको खोप लिनु बुद्धिमानी हुन्छ।