चितवनमा डेंगु भयावह बन्दै, ३४३ जनामा संक्रमण

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७९, शुक्रबार

नेपालगन्ज: चितवन जिल्लामा साउनयता तीन सय ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

दुई हजार पाँच सय २८ जनाको परीक्षण गर्दा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार डेङ्गुको सङ्क्रमण जिल्लाका मुख्य सहरमा बढी देखिएको छ ।

कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गु देखिएको थियो ।

यसवर्ष देखिएका बिरामीमा भरतपुर महानगरका धेरै रहेका छन् भने खैरहनी र रत्ननगर नगरपालिकामा समेत सङ्क्रमण फैलिएको छ । निरन्तरको वर्षापश्चात् एक सातामा डेङ्गुका बिरामीको सङ्ख्या निकै बढेको उहाँले जानकारी दिनु भयो ।

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ, असोजमा डेङ्गु रोग देखिने गर्दछ ।

उहाँले भन्नुभयो, ‘अहिले साउनदेखि नै डेङ्गुको सङ्क्रमण देखिन थालेको छ ।’ यो रोग घर वरिपरि बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

यो लामखुट्टेले प्राय बिहान र बेलुकाको समयमा टोक्ने उनले जानकारी दिनु भयो । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उहाँले बताउनुभयो ।

यो रोग अघिल्ला वर्षको तुलनामा अप्रत्यासितरुपमा बढ्दै गएको कार्यालयले जनाएको छ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ ।

यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनु भयो ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech