नेपालगन्जः सल्यानमा नवजात शिशु मृत्युदर उच्च देखिएको छ । गर्भवती अवस्थामा स्याहारसुसार नपाउँदा महिलाको ज्यान पनि जोखिममा देखिएको छ ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार आर्थिक वर्ष ०७६-०७७ मा १८, ०७७-०७८ मा १५ र ०७८-०७९ मा १० नवजात शिशुले ज्यान गुमाएका छन् ।
त्यस्तै, आर्थिक वर्ष ०७६-०७७ मा २७, ०७७-०७८ मा ५९ र ०७८-०८९ मा ३४ जनाको गर्भ मृत्यु भएको छ । नवजात शिशुभन्दा पनि गर्भमा मृत्यु हुने तथा मृत जन्मनेको संख्या धेरै भएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले बताउनुभयो ।
गर्भवती महिलाको गर्भजाँचमा बेवास्ता हुँदा र जटिल समस्या आएपछि मात्र अस्पताल लैजाने चलनले शिशु र गर्भ मृत्यु बढेको उनको भनाइ छ ।
सानै उमेरमा विवाह गर्ने प्रचलनले पनि शिशु मृत्युदर बढिरहेको अस्पतालका विशेषज्ञ डा. अभिषेक सिंहले बताउनुभयो ।