नेपालगन्जः स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनअघि धनगढीमा अनशन बस्नु भएका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
उहाँलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । धनगढीस्थित गीता सत्संग समितिको धर्मशालामा अनशन बसेका केसीको बुधबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको वार्डमा सारिएको हो ।
केसीलाई सेती प्रादेशिक अस्पतालको छुट्टै वार्डमा राखेर उपचार थालिएको डाक्टर केसीसँगै रहेका डाक्टर अमृत जैशीले बताउनुभयो । उहाँका अनुसार बुधवारदेखि डाक्टर केसीलाई बोल्न समस्या भइरहेको र रक्तचाप घटेको छ ।
उहाँले चिकित्सकको सल्लाह बमोजिम नै डाक्टर केसीलाई अस्पतालमा भर्ना गरिएको बताउनुभयो । डाक्टर केसीको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसीएन डाक्टर शेर बहादुर कमरले गर्नु भएको छ ।