नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–२० राझामा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । पछिल्लो समय डेंगु रोगको संक्रमण बढ्दै गएकाले त्यसैलाई मध्यनजर गरेर नेपालगन्ज उपमहानगरपालिकाले स्वास्थ्य शिविर गरेको स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
उक्त वडाको थपुवामा ज्वरोका बिरामी धेरै भएको गुनासो आएपछि वडासँगको सहकार्यमा भेरी अस्पताल, स्वास्थ्य कार्यालय लगायतको सहकार्य र समन्वयमा शिविर गरिएको छ ।
भेरी अस्पतालका फिजिसियन डा रजनी केसी र ल्याव टेक्निसियन केशव ज्ञवाली नेतृत्वको टोलीले बिरामीको स्वास्थ्य चेकजाँच गरेको हो । ७८ पुरुष र ३० महिला गरी १०८ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको डेंगु रिपोर्ट नेगेटिभ आएको वलीले बताउनुभयो ।
शिविरमा नेपालगन्ज २० का वडाअध्यक्ष कौशल धोवी, स्वास्थ्य कार्यालयका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपालगन्ज स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दलगायतको सहभागिता रहेको थियो ।