डेंगी नियन्त्रण गर्न व्यवस्थित शहरीकरण: राजन पाण्डे

डेंगी रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाबीचको बैठक


    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७९, शुक्रबार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका डेंगी रोगको उच्च जोखिममा देखिएकाले रोकथाम तथा नियन्त्रणका बिषयमा सम्बद्ध सरोकारवाला निकाय गम्भीर भएर लाग्नु पर्नेमा जोड दिइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले आज नेपालगन्जमा आयोजना गरेको डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाबीचको बैठकमा बोल्ने सहभागीले डेंगी रोगबाट जोगिन सरसफाइ र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिए ।

बैठकमा डेंगी रोगको अवस्था, लक्षण तथा जोगिने उपाय र नियन्त्रणका सवालमा भएका कामहरुको बारेमा भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे र स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

त्यसक्रममा डा पाण्डेले यो मौसममा डेंगुको जोखिम स्वभाविक भएको बताउनु भयो । उहाँले पछिल्लो १८ वर्ष देखि नेपाल डेंगीको जोखिममा रहेको बताउनु भयो । यो ग्लोबल समस्याका रुपमा रहेकाले यस्को नियन्त्रण र रोकथाम भनेकै व्यवस्थित शहरीकरण भएको उहाँको भनाइ छ । उहाँले त्यसका लागि स्थानीय सरकारले पहल गर्नु पर्ने बताउनु भयो ।

उहाँले डेंगीको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्नु पर्ने बताउनु भयो । उहाँले डेंगी रोग चार प्रकारका हुने भएपनि नेपालमा कुन प्रकारको डेंगी फैलिएको भन्ने बारे पहिचान गर्न उपकरणको अभाव भएको बताउनुभयो । यस्तो उपकरण टेकु बाहेक अन्य अस्पतालमा छैन ।

उहाँका अनुसार एउटा ब्यक्तिलाई उसको जीवनकालमा कम्तिमा ४ पटकसम्म डेंगी हुन्छ । पहिलो पटकको डेंगीभन्दा दोस्रो पटकको डेंगीले मानिसलाई जोखिम अबस्थामा पुर्‍याउने डा पाण्डेको भनाइ छ ।

यस्तै डेंगी रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसहरुलाई सचेतना जगाउन अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका किटजन्य रोग फोकल पर्सन गौतमको भनाइ छ ।

बाँकेमा अहिलेसम्म ११ जनामा डेंगीको संक्रमण देखिएको छ । ती मध्य ५ जना नेपालगन्ज उपमहानगरपालिकाका, ४ जना कोहलपुरका र १ जना बैजनाथ गाउँपालिकाका रहेका छ्न ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईको अध्यक्षतामा बसेको बैठकमा भेरी अस्पतालका मेसु डा बद्री चापागाईं, स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल, जिल्ला रेडक्रसका दोलख बहादुर डांगी लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

 

  • २४ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech