भेरी अस्पतालमा पहिलो पटक स्त्री रोगसम्वन्धी ल्याप्रोस्कोपी सर्जरी सेवा सुरु

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७९, सोमबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा पहिलो पटक स्त्री रोगसम्वन्धी ल्याप्रोस्कोपी सर्जरी सेवा सुरु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–२ की २२ वर्षीया महिलाको ल्याप्रोस्कोपी सर्जरी गरिएसँगै भेरीमा यो सेवा सुरु भएको हो । पाठेघरमा बस्नु पर्ने बच्चा ट्युवमा बसी ट्युव फुटेको अवस्थामा ती महिलाको ल्याप्रोस्कोपी सर्जरी गरिएको थियो ।

बच्चा बसेको करिव एक महिना पछि ती महिलामा पेटको दुखाइ भएर अस्पताल पुगेकी थिइन् । आवश्यक चेकजाँच गर्दा बच्चा ट्युवमा बसेर ट्युव फुटेको अवस्थामा पाइएपछि तत्काल ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरिएको शल्यक्रियामा संलग्न प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीले जानकारी दिनुभयो ।

काठमाडौंस्थित प्रसूति गृहबाट एक साता अघि मात्रै भेरी अस्पतालमा आउनु भएका सुवेदीको नेतृत्वमा अस्पतालका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा कल्पना थापा, एनेस्थेसियोलोजिष्ट डा अभिषेक मदनवाल, डा राजेश देसार, नर्सिङ स्टाफ तारा आचार्य लगायतको टोली शल्यक्रियामा संलग्न थियो ।

यसअघि भेरी अस्पतालमा स्त्री रोगसम्वन्धी ल्याप्रोस्कोपी सर्जरी सेवा थिएन । लामो समय प्रसूति गृहमा कार्य अनुभव संगाल्नु भएका डा. सुवेदीको आगमनसँगै भेरीमा ल्याप्रोस्कोपी सर्जरी सेवा सुरु भएपछि यसक्षेत्रका बिरामी लाभान्वित हुने भएका छन् ।

के हो ल्याप्रोस्कोपी सर्जरी

पेटमा स–साना घाउ बनाइ दूरवीनको मद्दतले पेट नचिरेरै गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपी सर्जरी भनिन्छ । पेट चिरेर गरिने शल्यक्रिया भन्दा ल्याप्रोस्कोपी विधि सजिलो र भरपर्दो भएको डा. सुवेदी बताउँनुहुन्छ । उपचारका लागि पछिल्लो पटक भित्रिएको यो विधि सुरक्षित मानिने चिकित्सकहरु बताउँछन् ।

यो विधिबाट शल्यक्रिया गर्दा केही प्वालहरुमात्र पार्नु पर्ने भएकाले विरामीलाई दुखाई कम हुने र रगत धेरै नजाने हुन्छ । त्यसकारण घाउ चाडै सन्चो हुने, घाउ नपाक्ने, रगत दिन पर्ने सम्भावना न्यून हुने चिकित्सकहरु बताउँछन् । यो विधिबाट शल्यक्रिया गरिएको विरामीलाई अस्पतालबाट चाडै डिस्चार्ज गर्न सकिन्छ ।

 

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech