बाँकेमा ११ जनालाई डेंगु पुष्टि, नेपालगन्ज, कोहलपुर र बैजनाथ उच्च जोखिममा

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७९, सोमबार

नेपालगन्जः बाँकेमा ११ जनामा डेंगुको संक्रमण देखिएको छ । बाँकेका सरकारी तथा विभिन्न निजी प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ११ जनामा डेंगुको संक्रमण देखिएको हो ।

ती मध्ये तीन जना जिल्ला बाहिरका भएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको फोकल पर्सन गौतमले बताउनुभयो ।

संक्रमणको जोखिम उच्च बनेपछि नेपालगन्ज उपमहानगरपालिकाले डेंगु रोग सार्ने लामखुट्टैका लार्भा मार्ने अभियान सुरु गरिसकेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कस्थित ५३ वर्षीय पुरुषमा डेंगुको संक्रमण देखिएपछि बसपार्क क्षेत्रलाई उच्च जोखिममा लिइएको पनि उहाँको भनाइ छ । संक्रमण पुष्टि भएका अधिकांशमा ट्रयाभल हिस्ट्री देखिए पनि ती पुरुष भने घरमै थिए ।

त्यसैले डेंगु सार्ने लामखुट्टे बसपार्क क्षेत्रमा भएका हुन सक्ने सम्भावना बलियो भएकाले उक्त क्षेत्रमा लामखुट्टे मार्ने अभियान र सचेतनामुलक कार्यक्रम सुरु गरिएको वलीको भनाइ छ ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech