विद्यालयमा तीन बेड सुविधासहितको हेल्थ डेस्क स्थापना

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७९, आईतवार

नेपालगन्जः रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले तीन बेड सुविधासहितको हेल्थ डेस्क स्थापना गरेको छ ।

हेल्थ डेस्कमा २ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । विद्यालयले आफ्नै स्रोतबाट तलब सुविधा दिने गरी एक जना नर्स नियुक्त गरेको छ ।

यसका साथै लुम्बिनी प्रदेश सरकारले अघिल्लो वर्षदेखि एक जना अनमी उपलब्ध गराएको छ । विद्यालयको हेल्थ डेस्कमा उनीहरुले सेवा दिइरहेका छन् ।

उनीहरुले विद्यार्थीको नियमित सामान्य चेकजाँचका साथै विभिन्न स्वास्थ्य तथा सचेतनामूलक कार्य गर्दछन् ।

पोषणयुक्त खानेकुराको महत्व बुझाउँदै विद्यार्थीलाई त्यस्ता खानाको प्रयोगमा जोड दिने काममा नर्सलाई जिम्मेवारी दिइने भएको छ ।

विद्यालयमा स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण उपकरण र औषधि पनि विद्यालय स्वयमले खरिद गर्ने गर्दछ ।

विद्यालय स्वास्थ्यको सबै खाले सेवा र व्यवस्थापन नर्सहरुले गर्नेछन् । किशोरकिशोरीको प्रजनन तथा यौन स्वास्थ्यका बारेमा सचेतीकरण, महिनावारी व्यवस्थापन, हिंसाबाट बालबालिकालाई कसरी बचाउने भन्ने, सीप हस्तान्तरणको जिम्मेवारी पनि नर्सको हुने बताइएको छ ।

विद्यालय खानेपानी तथा सरसफाइ संचालन र व्यवस्थापन, विद्यालयस्तरबाटै जुकाको औषधि वितरण, खोप कार्यक्रम र स्वास्थ्य शिक्षा संचालन गर्नेछन् ।

विद्यालयमा प्राथमिक उपचार र आवश्यकता अनुसारको स्वास्थ्य परीक्षणको जिम्मेवारीसमेत दिइएको छ ।

विद्यालय नर्स कार्यक्रमको मापदण्डअनुसार सामान्य उपचार तथा परामर्श र औषधि वितरणको काम हेल्थ डेस्कबाट हुने गर्दछ । थप उपचार गर्नु परे नजिकको सरकारी स्वास्थ्य केन्द्रमा पठाउने गरेको विद्यालयको भनाइ छ ।

विद्यार्थीहरुले लामो समय विद्यालयमा व्यथित गर्दा उनीहरुको स्वास्थ्य संवेदनशीलता पनि उत्तिकै ध्यान दिनुपर्ने विषय भएकाले विद्यालयले यस्तो कार्यक्रम ल्याएको विद्यालयका प्रधानाध्यापक मधुसूदन पोख्रेलको भनाइ छ ।

झण्डै २९ सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा दैनिक सरदर २०र२५ जना बिरामी विद्यार्थीले स्वास्थ्य सेवा लिने गरेको विद्यालयको अभिलेखमा उल्लेख छ ।

स्वास्थ्य केन्द्रसँग विद्यालयको दूरी टाढा रहेका कारण बिरामी विद्यार्थी स्वास्थ्य केन्द्र धाउदा पढाइ छोड्नु पर्ने समस्या समेत टरेको विद्यालयको भनाइ छ ।

विद्यार्थीहरुमा धेरैजसो ज्वरो, रुघाखोकी, टाउको दुख्ने, पेट दुख्ने र चोटपटकको समस्या हुने गरेको उहाँको भनाइ छ ।

विद्यालय नर्स कार्यक्रमले बालबालिकाको शिक्षामा ठूलो परिवर्तन ल्याएकोे विद्यालयको दाबी छ । विद्यालयमा आउँ, झाडापखाला, कमलपित्तका बिरामीसमेत घटेका छन् ।

 

  • १२ भाद्र २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech