नाक, कान तथा घाँटी रोगको उपचारः आवश्यकता र चुनौति

    • डा.कपिल शाही \ ईएनटी सर्जन

  • २६ श्रावण २०७९, बिहीबार

नाक, कान र घाँटीसँग सम्वन्धित समस्या सामान्य लागेपनि समयमा सही ढंगबाट उपचार नहुँदा दीर्घकालिन समस्या आउने गदर्छ । यी रोगको उचित निदान र उपचार चुनौतिपूर्ण छ ।

अन्तराष्ट्रियस्तरमा नाक, कान तथा घाँटीको उपचार प्रक्रिया र प्रविधिले फड्को मारिरहँदा नेपालमा भने यी सुविधा अझै पनि पहुँचमा आउन सकेको छैन । भएको ठाउँमा स्तरउन्नती जरुरी छ । अस्पतालमा पूर्ण नाक, कान तथा घाँटी विभाग बनाउन र सम्वन्धित रोगको गुणस्तरीय उपचार गर्न धेरै चुनौतिहरुको सामना गर्नु पर्ने हुन्छ ।

चुनौति मध्येको पहिलो भनेको आम मानिसमा रहेको सचेतनाको कमी र आर्थिक भार नै हो । जसले गर्दा रोग जटिल नहुँदासम्म परामर्श वा उपचार गर्न नआउँने, नियमित परीक्षण नगर्ने साथै सही ठाउँमा नपुगी अलमल पर्ने गर्छन् ।

चिकित्सकीय नजरबाट हेर्दा नाक, कान तथा घाँटीको बनावट एकदमै जटिल छ । प्रत्यक्ष देखिने भाग भन्दा लुकेको भाग बढी हुने गर्छ । पूर्ण अवलोकन गर्न विशेष र महंगा उपकरणहरु चाहिने गर्छन् ।

अझ कम्प्याक्ट रुपमा रहेका मांशपेशी, हड्डी, स्नायु रगत नलीले गर्दा रोग कुन भागलाई असर गरेर निस्केको छ भन्ने पत्ता लगाउन पनि निकै चुनौति छ । सहयोगी परीक्षण जस्तैः सिटी स्क्यान, भिडियो एक्स रे, एमआरआई आदीको आर्थिक भार थेग्न नसक्नु नेपाली जनताको बाध्यता हो ।

आफ्नै विभागका महत्वपूर्ण अंग जस्तैः (speech and language Pathologist, swallowing therapist, audiologist) को सहयोग त छँदैछ, साथमा अन्तर विभागीय समन्वय पनि उत्तिकै जरुरी छ । नाक, कान तथा घाँटीको शल्यक्रिया गर्दा एनेस्थेसिया, थेरासिस र भाष्कुलर सर्जन, प्याथोलोजिष्ट, म्याक्सियोफेसियल सर्जन, प्लाष्टिक सर्जनको सहयोग पनि कुनै बेला चाहिन सक्छ ।

त्यसैगरी बैहिरंग सेवा दिन न्यूरोफिजिसयन, डर्माटोलोजिष्ट, मानसिकरोग विशेषज्ञ, रेडियोलोजी, कार्डियोमेडिसियन, इन्डोक्राइनोलोजिष्ट र हेमाटोलोजिष्टको मद्दत लिनु पर्ने हुन्छ ।

तसर्थ पुनः इएनटी विभाग चलाउन अस्पतालमा माथि उल्लेखित सबै विभागको फूर्तिलो टोली हुनु पर्छ । नाक, कान तथा घाँटीको सबैजसो शल्यक्रिया जटिल र चुनौतिपूर्ण हुन्छ । दक्षजनशक्ति, धैर्यता, ज्ञान र सुक्ष्म कलाकारी हातसँगै नयाँ उपकरण र प्रविधिको अपडेट र प्रशिक्षणनै सफल शल्यक्रियाको सुत्र हुन् । शल्यक्रिया पछिको समय अर्थात पोष्ट अप्रेरिटभ केयर पनि उत्तिकै चुनौतिपूर्ण हुन्छ ।

त्यसैले सो सेवामा संलग्न नर्स, हेल्थ असिस्टेन्टलाई विशेष प्रशिक्षण गरी बिरामीलाई निको हुने उचित वातावरणको व्यवस्था हुनु पर्छ । संघीय अस्पतालमध्ये कै उत्कृष्ट भेरी अस्पतालले नाक, कान तथा घाँटी सम्वन्धि रोगको गुणस्तरीय सेवा दिरहेको छ ।

नेपालका पश्चिम क्षेत्रबासीले मात्र नभइ भारतका बिरामीले समेत यहाँ आएर सेवाको लाभ लिरहेका छन् । विभागलाई अझै बलियो र अन्तराष्ट्रियस्तरको बनाउन यसलाई पूर्णता दिन जरुरी छ । ओपिडी सेवा विस्तार, नयाँ भवन, नयाँ उपकरणहरु भित्रिदै गर्दा तल उल्लेखित कुरामा ध्यान दिन जरुरी छ ।

१–दक्ष जनशक्ति थप गर्नुका साथै क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरु उपलब्ध गराउनु पर्ने

२–श्रवण परीक्षणमा थप उपकरण जोडी नयाँ शिशुको स्क्रिनिङ र जनमजात बहिरो बच्चाको समयमै परीक्षण गरी निदान गर्ने

३–बच्चाहरुमा देखिने अटिजमको समस्या, ढिलो बोल्ने, प्रष्ट नबोल्ने र स्वर सुक्ने समस्याका लागि स्पिचथेरापिष्टको आवश्यकता पूरा गर्ने

४– मस्तिष्क घात भइ वा घाँटीको क्यान्सरको उपचार पश्चात देखिने खान मिल्न नसक्दो अवस्थालाई (swallowing therapist) को भर्ना गरी सेवा दिने

५– घाँटी तथा टाउको क्यान्सरसँग लड्दै गर्दा यसले उत्पन्न गर्ने त्रास न्यूनिकरण गर्न (-verbal ) र (visual counselling) ओपिडी सेवा सुरु गर्ने

६– (True vertigo) मुख्यतहः कानको समस्याले नै गर्दा आउने समस्या हो । उक्त रोगको निदानका निमित्त एउटा (well equipped) ल्यावको स्थापना गर्ने ।

७–(post operative care) को प्रशिक्षण र स्तरवृद्धि गर्ने तालिमको व्यवस्था गर्नु पर्ने ।

अक्सिजन स्मारिकाबाट

  • २६ श्रावण २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech