कतै ज्ञानी हातहरु
कतै धार्मिक हातहरु
कतै तान्त्रिक हात
अनि कतै मायालु हातहरु
सबै हातहरुमा
एउटा भोक देख्छ मेरो नजरले अचेल
लाग्छ ती सबै एकै हुन्
मुखुण्डोभित्र लुकेको एउटा राक्षस
जसले मेरो शरिरमा
छातिमा उठेका दुई पोका
र
तिघ्राबीच चेपिएको मासुको सानो थुप्रो बाहेक
अरु केही देख्दैन ।
माथिका हरपहरु जीवनका यर्थाथ अनुभूति हुन् । भेरी अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र ओसिएमसी कार्यक्रम हेर्दै गर्दा मैले त्यस्ता धेरै केशहरु हेरेकी छु । जसले मेरो ह्दयमा बारम्बार प्रहार गर्छ । न बाबुले छोरी भनेको छ । न दाईले बहिनी भनेको छ । न छोरोले आमा भनेको छ । न साथीले साथित्वको नातालाई विश्वासमा परिणत गर्न सकेको छ ।
यहाँसम्मकी महाअष्टमीको दिन आफ्नै बाबुबाट ९ बर्षीया नाबालिका बलात्कृत भएको केश हेर्दा अहिलेपनि मनमा आगो दन्किन्छ । जुन दिन घरमा छोरीलाई पुजिन्छ त्यही दिन बाबुको कुर्कृत्य प्रदर्शन हुन्छ । यस्ता तमाम घटनासँग ओसिएमसी कार्यक्रमले मलाई साक्षात्कार गर्ने मौका दिएको छ भनौं की पीडितहरुको न्यायिक प्रक्रियामा सहजिकरण गर्ने जिम्मेवारी दिएको छ भनौं । जे होस् ५ वर्षदेखि म ओसिएमसीमा लैङ्गिक हिंसा पीडित वा प्रभावितहरूसँग नै छु ।
के हो ओसीएमसी कार्यक्रम ?
लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले लागू गरेको कार्यक्रम हो अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कार्यक्रम । लैङ्गिक हिंसा पीडित वा प्रभावितहरूलाई आवश्यक सबै सेवा जतिसक्दो चाँडो एकद्वार प्रणालीबाट उपलब्ध गराउने यो कार्यक्रमको मुख्य उद्देश्य हो ।
ओसीएमसी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ र अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना सञ्चालन निर्देशिका २०७७ जारीसमेत गरिसकेको छ । १० वर्षको अवधिमा यो कार्यक्रम हाल ७७ जिल्लाको ८८ वटा अस्पतालमा विस्तार भइसकेको छ । भेरी अस्पताल नेपालगन्जमा २०७४ साल चैत महिनादेखि लागु भएको हो । गत ५ वर्षमा ७८९ जनाले ओसीएमसीमार्फत उपचार गराएका छन् ।
आर्थिक वर्ष २०७४\७५ मा १०७, २०७५\७६ मा १४३, २०७६\७७ मा १५८, २०७७\७८ मा १७१ र २०७८\७९ मा २१० जनाले ओसीएमसीमा सेवा लिएको अस्पतालको तथ्यांक छ । यो तथ्याङ्कले बाँकेमा ओसीएमसीको सेवा लिने वर्सेनि बढिरहेको स्पष्ट पार्छ । ओसीएमसी कार्यक्रममार्फत सरकारले विशेषगरी सात प्रकारका सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
१.स्वास्थ्य उपचार
२.मनोसामाजिक परामर्श
३.चिकित्सकीय कानूनी सेवा
४.सुरक्षा
५.आश्रय
६.कानूनी उपचार
७.पुनःस्थापना केन्द्र
जोखिमका कारणहरु :
लैङ्गिक असमानता र भेदभाव, बैबाहिक कलह, पारिवारिक बिखण्डन तथा सौतेनी र झड्केलो बाबुबाट महिला तथा किशोरीहरुमा हुने हिंसा जोखिमका साझा कारणहरु हुन् भन्ने कुरा अन्तर्राष्ट्रिय स्तरमा भएका अध्ययनहरुले पनि देखाएका छन् । पीडितहरुमा आधारित नेपालमा गरिएकोयस अध्ययनले पनि यिनै जोखिमका कारणहरुलाई नै प्रतिबिम्बित गर्दछ ।
आमाबुबाको मृत्यु भएर घर छोडेर गएका कारण परिवारका अन्य सदस्यहरुले बच्चाको जिम्मेवारी लिनु, श्रीमान्घर छोडेर काम गर्न बाहिर जानु, कम उमेरमा बिबाह हुनु र महिलाहरु नागरिकताबाट बिमुख भएको स्थिति जस्ता जोखिमका कारणहरु पनि यस अध्ययनले देखाएको छ । मानसिक अपाङ्गता वा कमजोर मानसिक स्वास्थ्य अवस्था भएका ब्यक्तिहरु नै सबैभन्दा बढी हिंसाको जोखिममा परेको देखिन्छ ।
शारीरिक वा मानसिक अपाङ्गता भएका किशोरी र महिलाहरु अपाङ्गता नभएका किशोरी तथा महिलाहरुभन्दा दश गुणा बढी लैङ्गिक हिंसाको जोखिममा पर्ने सम्भावना भएको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएका छन् । अपाङ्गता भएका महिला तथा किशोरीहरु माथि हुने लैङ्गिक हिंसाको अवस्था देखाउने प्रमाणहरु सीमित भएता पनि यस अध्ययनले उनीहरुमा लैङ्गिक हिंसाको जोखिम बढी रहेको थुप्रै उदाहरणहरु प्रस्तुत गरेको छ ।
ओसीएमसीले पु¥याएका योगदानहरु :
प्रायःजसो लैङ्गिक हिंसाका घाईते पीडितहरुलाई आकस्मिक विभागमा पु¥याइने गरेको र त्यहीबाट एकद्वार संकट व्यवस्थापन केन्द्रमा रेफर गर्ने गरिएको छ । केहीलाई चाहिं प्रहरी वा सामाजिक संस्था र गैरसरकारी संस्थाबाट एकद्वार संकट ब्यवस्थापन केन्द्रमा पठाउने गरेको पाइएको छ । अधिकांश महिला, बालिका तथा किशोरीहरुले एकद्वार संकट ब्यवस्थापन केन्द्रबाट स्वास्थ्य उपचार सेवा पाएका छन् ।
समस्या र चुनौति :
ओसिएमसी कार्यक्रमलाई विस्तार गर्दै लैजानुका साथै सुदृढीकरण गर्दै लैजान आवश्यक छ । यो कार्यक्रममा काम गर्न चाहने धेरै गैरसरकारी संस्थाहरु पनि धेरै हुनुहुन्छ। र, गैससहरुले सहयोग पनि गरिरहनुभएको छ । सरकारको आफ्नै पुर्नस्थापना केन्द्र नभएका कारण अल्पकालीन, दीर्घकालीन पुर्नस्थापना केन्द्रमा राख्नुपर्दा कति अप्ठ्यारो भइरहेको छ ।
यो कार्यक्रमलाई न्यायले, सुरक्षा निकायले, गैर सरकारी संस्थाले उत्तिकै महत्वपूर्ण रुपमा हेरिदिनु पर्छ भन्ने लाग्छ । एकीकृत सेवा दिने कुरा नै सबैभन्दा ठूलो चुनौती रुपमा छ । एकीकृत सेवाका लागि आवश्यक पर्ने जनशक्ति, बजेट, समन्वय, सहकार्यको कुरा पनि आउँछ । किशोरी तथा महिलाहरु हिंसा बारे सचेत त हुनु हुन्छ। तर हिंसा प्रतिकार गर्न सक्ने क्षमता भने अझै बढाउन आवश्यक छ ।
हिंसा प्रतिकार गर्ने क्रममा व्यक्तिको मृत्यु हुन्छ भने पनि तिमीलाई सजाँय हुँदैन भनेर हाम्रो प्रचलित कानूनले नै भनेको छ । तर पनि महिलाहरु हिंसा प्रतिकार गर्ने स्तरमा अझै पुगिसकेको छैनन् । श्रीमानले कुटेपनि, हिंसा गरेपनि महिलाहरु हिंसा सहेर बस्न बाध्य भइरहेका छन्। उनीहरुमा हिंसा प्रतिकार गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता छ ।
निष्कर्ष :
पुरुषले गर्ने हिंसा र सासुससुराको असीमित अधिकार र बुहारीमाथि उनीहरुको नियन्त्रणलाई स्वीकार गर्ने समाजको मूल्यमान्यतामा जकडिएको लैङ्गिक विभेदको फन्दामा धेरै नेपाली महिला तथा किशोरीहरुकोएक दर्दनाक स्थितिलाई यस अध्ययनले चित्रण गरेको छ । लैङ्गिक हिंसामा परेका ब्यक्तिहरुलाई आवस्यक स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्श सेवा दिन र उनीहरुको अन्य समस्याको समाधानको लागि समन्वय गर्न एकद्वार संकट ब्यवस्थापन केन्द्र एक महत्वपूर्ण संरचनाका रुपमा रहेको छ ।
समुदायमा एकद्वार संकट ब्यवस्थापन केन्द्रका बारेमा कम मात्र जानकारी छ । पीडितहरु एकदम कम संख्यामा मात्र सिधै एकद्वार संकट ब्यवस्थापन केन्द्रमा आवस्यक सेवाका लागि आइपुग्छन् र केन्द्रका कर्मचारीहरु अस्पतालमा नै सीमित छन् । केन्द्रका कर्मचारीहरुको योगदानले लैङ्गिक हिंसाबाट पीडितहरुको जीवनमा ल्याएका सकारात्मक परिवर्तनको पहिचान गर्दै यस अध्ययनले उजागर गरेका घटनाहरुको ब्यापकता र चुनौतीलाई यो अध्ययनले प्रतिबिम्बित गरेको छ । लैङ्गिक हिंसाको समाधान गर्न हरेक तहमा सरकारको दीगो प्रतिबद्धताको साथै बहुपक्षीय प्रयासको आवश्यकता छ ।
स्वास्थ्य क्षेत्रको मुख्य दायित्व भनेको लैङ्गिक हिंसा पीडितलाई आवस्यक स्वास्थ्य लगायत अन्य सेवाहरु उपलब्ध गराउनु हो । जसको निमित्त स्वास्थ्य सेवाहरुको सुदृढीकरण र स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्नु आवश्यक छ ।
अक्सिजन स्मारीकाबाट