भेरीलाई सुपर स्पेसियालिटी अस्पताल बनाइन्छः मे.सु चापागाई

मैले देखेको भेरीको सपना बिशिष्टिकृत अस्पताल हो । सुपर स्पेसियालिटी सेवा दिने अस्पतालको रुपमा विकास गर्ने हो । निश्चित कार्ययोजनाका साथ अघि बढेर भेरीलाई सुपर स्पेसियालिटी सेवा दिने अस्पतालकोरुपमा विकास गर्ने हो । यो अस्पताललाई शैक्षिक हव बनाउने हो । एम.डी, एम.एस अध्ययनको केन्द्रको रुपमा विकास गर्ने हो । एम.बी.बी.एस पढ्नका लागि कुनै गाह्रो छैन् । निजी मेडिकल कलेजहरू जति पनि छन् ।


    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७९, बिहीबार

भेरी अस्पताल स्थापनाको १३२ बर्ष पुगेको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र पुरानो यो अस्पतालको आफ्नै इतिहास छ । पछिल्लो पटक कोभिड महामारीको समयमा उपचार र व्यवस्थापनमा उत्कृष्ट सेवा प्रवाह गरेपछि भेरी अस्पतालको कार्यसम्पादनको उच्च प्रशंसा हुँदै आएको छ । त्यतिमात्र होइन यस्ता प्राकृतिक विपद व्यवस्थापन र  आपत्तकालिन सेवा प्रवाह कसरी गर्न सकिँदो रहेछ भन्ने गतिलो सन्देश भेरी अस्पतालले दिएको छ ।

भेरी अस्पताल र वीर अस्पताल एकैदिन जन्मिएपनि भौतिक संरचना, मानव संसाधन र उपकरणका हिसाबले वीरसँग भेरी तुलनायोग्य छैन । केन्द्रीकृत मनोविज्ञान, राजनीतिक पहुँच, ठोस कार्ययोजनाको अभावलगायतका कारण भेरी अस्पताल पछाडि परेको हो भन्न हिच्किचाउनु पर्ने अवस्था छैन । यति लामो इतिहास बोकेको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेको भेरी अस्पतालको सेवालाई थप प्रभावकारी, गुणस्तरीय र विश्वसनिय बनाउन दीर्घकालिन योजना बनाएर अघि बढ्नुको विकल्प छैन ।

अस्पतालको सेवालाई प्रविधिसँग जोडेर सरलीकृत बनाउन आवश्यक त छ नै, यसको सेवालाई थप दर्बिलो बनाउन पनि जरुरी छ । अस्पतालको नेतृत्व अहिले युवा चिकित्सक बद्री चापागाईको काँधमा छ । २०६३ सालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट एमबिबिस अध्ययन पुरा गरि सोहि साल सरकारी सेवामा प्रवेश गर्नु भएका डा चापागाईंले २०७० सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट डर्माटोलोजी विषयमा एमडी सकाएपछि भेरी अस्पतालमा प्रवेश गर्नु भएको हो ।

खुला प्रतिष्पर्धाबाट नवौं अनि एघारौं तहको विशेषज्ञ पदहरूमा नियुक्त पाउनुभएका वहाँले छोटो समयमै विविध विषयमा फराकिलो अनुभव संगाल्ने मौका पाउनुभएको छ। वहाँसँग २०७१ भदौ देखि २०७२ माघसम्म भेरी अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि छ । वार्षिकोत्सवको अवसरमा चापागाईसँग अस्पतालको अहिलेको अवस्था, भावी योजना र चुनौतिका बारेमा प्रियास्मृति ढकालले कुराकानी गर्नुभएको छ । 

भेरी अस्पतालले आफ्नो १३२ औं स्थापना दिवस के सन्देशका साथ मनाउँदैछ ?

भेरी अस्पताल स्थापनाको १३२ बर्ष पुगेको छ । तर, स्थापना दिवस मनाउन लागेको यो दोस्रो पटक हो । पहिलो स्थापना दिवस कोरोना महामारीकै बीचमा मनाएका थियौं । कोरोनाको उपचार, व्यवस्थापन र निदानमा भेरी अस्पतालले उत्कृष्ट सेवा प्रवाह गरेको सबैलाई विदितै छ । यो पटक भने अस्पतालको भावी कार्ययोजनालाई केन्द्रबिन्दुमा राखेर मनाइँदैछ ।

कस्तो कार्ययोजना ?

भेरी अस्पताल र वीर अस्पताल सँगसँगै स्थापना भएका अस्पताल हुन् । स्थापनाको १३२ बर्ष पुगेका यी दुवै अस्पतालको विकासक्रम आशातीत हुन नसकेको यथार्थ हो । केन्द्रीकृत शासन प्रणालीको प्रभावले भेरी भन्दा वीर केहि अगाडि होला तर भौगोलिक हिसाबले भेरीको दायित्व पनि वीरको भन्दा कम छैन । समित आवतजावत, स्वास्थ्यमा कम पहुँच र भारतिय शहरहरूमा भर पर्ने परिपाटीको कारणले धेरै समय भेरी अस्पतालको विकासको आवश्यकता महशुस नभएको हुन सक्छ, तर केहि वर्षयता भेरी अस्पतालको सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको छ । यो नै पर्याप्त छैन् । अब स्पष्ट कार्ययोजना बनाउनै पर्छ । अबको पाँच वर्ष, १० वर्ष अथवा ५० वर्ष के–के गर्ने ? भौतिक संरचना, मानवीय स्रोत, उपकरण यी सबै विषयमा दीर्घकालिन कार्ययोजना बनाएर अघि बढ्नै पर्ने हुन्छ ।

भौतिक पूर्वाधार, जनशक्ति र उपकरणको हिसावले भेरी अस्पतालको अवस्था के छ ?

भौतिक पूर्वाधार, जनशक्ति र उपकरणको हिसावले सन्तोष गर्ने ठाउँ छैन । भौतिक संरचनाहरू पुराना छन् । छतबाट पानी चुहिन्छन् । घामको प्रकाश नछिर्ने संरचना छन् । हुन त अहिले नयाँ भवन निमार्णकै क्रममा छ । २ सय ७० वेडको उक्त भवन असोजसम्म निर्माण सकेर अस्पताललाई हस्तान्तरण गर्ने ठेकेदारले भनेको छ । नयाँ भवन निर्माणपछि पूर्वाधारको समस्या केही हदसम्म समाधान होला । जनशक्ति र उपकरणको सवालमा पर्याप्तता छैन । तर पनि हामीले क्याथल्याव, न्यूरोलगायतका सेवालाई थप गरेका छौं ।

अस्पतालको सेवालाई प्रविधिसँग जोड्ने बेला आएन ?

निश्चय पनि । प्रविधिले सबैलाई जवरजस्त जोेड्दै लगेको छ त्यो चाहेर होस् वा नचाहेर । प्रविधिको सदुपयोग अत्यावश्यक नै भइसकेको छ । प्रविधिले धेरै सहजता प्रदान गर्छ । र, गरेको पनि छ । भेरी अस्पतालको सेवालाई प्रविधिसँग जोड्ने प्रयासहरू सुरु भइसकेको पनि छ । मेरै पहलमा अनलाइनबाट विलिङ गर्ने प्रणाली कार्यान्वयनमा छ । पर्चाकै लागि बिरामीहरू घण्टौं लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य चाहिरहेका छौं । त्यतिमात्र होइन सकेसम्म बिरामीलाई कार्ड (परिचयपत्र)नै उपलब्ध गराउने गरी अनलाइन प्रणालीको विकास गर्न खोजिरहेका छौं । त्यसो गर्न सकियो भने बिरामीले न पर्चा बोक्नु पर्छ, न त पर्चा हरायो भनेर चिन्ता लिनुपर्छ । किनकी बिरामीको सबै हिस्ट्री अनलाइनमै सुरक्षित हुन्छ । तर यसको मेकानिजम के ? कम्तिमा यस्ता कुराहरू केन्द्रबाटै पहल हुनु पर्छ भन्ने लाग्छ । यसलाई कसरी सरलीकृत गर्दै लैजाने त्यसको योजना बनाइरहेका छौं । प्रविधिका कुरा गर्दै गर्दा केही समस्या र चुनौतिहरू पनि छन् । जस्तै ई–हाजिरी । अन्य सरकारी कार्यालयमा बिहान १० बजे आएर हाजिरी गर्ने र कार्यालय समय सकियो भने अपरान्ह ४ बजे हाजिरी गरेर जाने गरिन्छ । यस्तोमा सहज पनि छ । तर अस्पतालमा यो व्यवहारिक देखिदैन् । कतिबेला बिहानै डियुटी पर्छ, कतिबेला राती पनि परिदिन्छ यस्तोमा इ–हाजिरी व्यवस्थित नहुँदो रहेछ । यद्यपी अस्पतालको सेवालाई प्रविधिमैत्री बनाएर बिरामीलाई सहज, छिटोछरितो सेवा दिने सवालमा हामी प्रतिबद्ध छौं ।

सरकारले भेरी अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा घोषणा गरेको दुई वर्ष पुग्यो । घोषणामात्रै गरेको छ की कार्यान्वयन पनि भएको छ ?

कार्यान्वयनको प्रारम्भिक चरण सुरु भएका छन् । क्याथल्याव, न्यूरो सेवा त्यसैको निरन्तरता हो । तर घोषणा गर्ने कागजमा सीमित हुने प्रवृत्ति कायमै छ । घोषणा गरेरमात्रै भएनन् नि ! संघीय अस्पतालहरूमा भेरी अस्पताल अहिलेपनि देशकै उत्कृष्ट अस्पताल हो । न्यूनतम कार्य सम्पादन मूल्याङ्कनमा पछिल्ला दुई आर्थिक वर्षमा भेरी अस्पताल उत्कृष्ट बन्दै आएको छ । त्यहीं अनुसार राज्यले भौतिक संरचनादेखि जनशक्ति र उपकरणको व्यवस्थापन गर्नु पर्दैन् ? पाँच सय शैयाको विशिष्टिकृत अस्पताल बनाइने छ भनेर मात्र भएनन् नि ? त्यसलाई चाहिने आवश्यक स्रोत साधन उपलब्ध गराउनु पर्दैन् ?

भेरी अस्पतालमा ओपिडी अवधिमै चिकित्सकहरू भेट्न मुस्किल पर्छ भनेर बिरामी गुनासो सुनाउँछन् किन ?

विहान १० देखि ३ बजेसम्म कम्तिमा आफ्नो डियुटीमा चिकित्सकहरू बसेर सेवा दिने हो भने धेरै बिरामीले राहात महसुस गर्छन भन्ने लाग्छ । यसमा पेशागत दायित्व र जिम्मेवारी महत्वपूर्ण कुरा हो । आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन मिल्दैन् । बिस्तारै यो समस्या समाधान भएर जानेमा म विश्वस्त छु । अर्को कुरा आफ्नो डियुटी आवरभन्दा बढी काम गर्नेलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने गरिएको छ । सरकारी अस्पतालका चिकित्सकहरू अस्पताल समय भन्दापछि र अघि निजी क्लिनिकमा बस्ने प्रवृत्ति छ यसलाई राज्यले नै सम्बोधन गर्नु पर्छ । अस्पतालभित्रै पेइङ क्लिनिक संचालन गर्न दिने हो भने यो समस्या सम्बोधन भएर जान्छ की भन्ने लाग्छ ।

भेरी अस्पतालको अहिलेको जुन संरचना छ नि, त्यहीँ संरचनामा बसेर अस्पतालको परिवर्तन सम्भव छ ?

असम्भव भन्ने होइन । मेसुको जिम्मेवारी प्राप्त भएदेखि मेरो काम भनेकै हस्ताक्षर गर्नेमै वितेको छ । सानासाना काममा अल्झिरहनु परेको छ । यसरी परिवर्तन गर्न गाह्रो छ । विभागीय प्रमुखहरूबाट हुने काम पनि मेसुको काँधमा छाडिएको छ । अब ति कामहरू उहाँहरू आफैंले गर्ने गरी व्यवस्थापन गर्दैछु । म पनि उहाँहरू जस्तै चिकित्सक हो । सबैको सहकार्य र सहयोग बिना भेरी अस्पतालको वृह्तर विकास सम्भव छैन । मैले यतिसम्म भनेको छु, तपाई मेसु भएको भए के गर्नु हुन्थ्यो ? त्यसको कार्ययोजना लिएर आउनुहोस् म कार्यान्वयन गराउँछु भनेको छु । त्यसैले सबैको समन्वय र सहकार्यबाटै परिवर्तन सम्भव छ ।

अस्पतालको सुशासन र पारदर्शिताको सवालमा यहाँको भूमिका कस्तो हुन्छ ?

सुशासन र पारदर्शिताको सवालमा सबै जिम्मेवार बन्नै पर्छ । कसैले अनियमितता गरेको पाइए कारवाहीको दायरामा ल्याउने सवालमा कुनै कसर बाँकी राखिदैन । हाम्रा हरेक गतिविधिलाई पारदर्शी र जवाफदेहि बनाइनेछ ।

एउटा चिकित्सक, त्यसपछि अस्पताल विकास समितिको अध्यक्ष र अहिले मेसुको भूमिकामा रहँदा कस्तो महसुस भइरहेको छ ?

चिकित्सक हुँदा बिरामी चेकजाँच गर्नमै व्यस्त भइन्थ्यो । त्यहीँ नै रमाइलो लाग्थ्यो ।  अस्पताल विकास समितिको अध्यक्षकोरुपमा रहँदा त्यो एउटा ‘सेरमोनियल’ अर्थात आलंकारी पद थियो । कार्यकारी पद थिएन् । नीतिगत विषयलाई कार्यान्वयन गर्ने, गराउने र नीतिहरूलाई हेरफेर गर्ने काम थियो । मेसुको भूमिका भनेको कार्यकारी हो । कामको अख्तियारी दिएको हुन्छ । स्वभाविकरुपमा मेसुको जिम्मेवारी चुनौतिपूर्ण र अवसर दुवै छ ।

तपाईले देखेको भेरीको सपना कस्तो हो ?

मैले देखेको भेरीको सपना बिशिष्टिकृत अस्पताल हो । सुपर स्पेसियालिटी सेवा दिने अस्पतालको रुपमा विकास गर्ने हो । निश्चित कार्ययोजनाका साथ अघि बढेर भेरीलाई सुपर स्पेसियालिटी सेवा दिने अस्पतालकोरुपमा विकास गर्ने हो । यो अस्पताललाई शैक्षिक हव बनाउने हो । एम.डी, एम.एस अध्ययनको केन्द्रको रुपमा विकास गर्ने हो । एम.बी.बी.एस पढ्नका लागि कुनै गाह्रो छैन् । निजी मेडिकल कलेजहरू जति पनि छन् ।

 अक्सिजन स्मारिकाबाट

  • १२ श्रावण २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech