नेपालगन्जः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला कोभिड–१९ विरूद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ। नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड(१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन्।
बाह्र वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरूद्धको खोप लगाएकाले कोभिड–१९ विरूद्धको खोप सञ्चालन तथा व्यवस्थापनसम्बन्धी जिल्ला खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी–बर्दघाट सुस्ता पश्चिम)लाई नेपालकै पहिलो कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
जिल्लाका सातै स्थानीय तहले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरूद्धको खोपको पूर्ण मात्रा पूरा गरी कोभिड–१९ विरूद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेका थिए।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट साउन ८ गते भएको अनुगमन, निरीक्षण तथा भेरिफिकेसनबाट समेत पूर्ण खोप सुनिश्चितता घोषणाको सम्पूर्ण प्रक्रिया पूरा भएकाले कोभिड–१९ विरूद्धको पूर्ण खोप सुनिश्चित जिल्ला हुन सफल भएको प्रजिअ पोखरेलले बताउनुभयो ।