नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागलाई कारवाहीको सिफारिस गरिएको छ ।
डा.नागले अस्पतालमा आफ्नो ड्युटी पूरा नगरेको भन्दै अस्पताल विकास समितिले २०७८ साल साउन २२ गते कारवाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको थियो ।
तर डा.नागलाई अहिलेसम्म पनि कारवाहीको प्रक्रिया अघि बढ्न नसकेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो पटक डा.नागले असार २० गते सोमवार अस्पताल प्रशासनमा आएर असार २९ गतेसम्मको हाजिर गरेको भेटिएको पनि श्रेष्ठले बताउनुभयो ।
अस्पताल विकास समितिबाट डा.नागलाई पटकपटक सुध्रन भनेपनि नमानेको उहाँको भनाइ छ । अग्रिम हाजिरी गरी डा. नागले आफ्नो उत्तरदायित्व र कर्तव्यबाट विमुख भएको पाइएकाले जिल्ला प्रशासनमार्फत स्वास्थ्य मन्त्रालयमा कारवाहीका लागि सिफारिस गरिएको श्रेष्ठले बताउनुभयो ।
डा.नागको नेपालगन्जको पासाङल्हामु मार्गमा बैष्णवी अस्पताल संचालनमा रहेको छ ।
डा. नागले अधिकांस समय आफ्नै अस्पतालमा दिने र महिनामा १र२ पटक भेरी अस्पताल पुगेर महिनाभरीको हाजिरी गर्ने गरेको बताइएको छ ।
त्यसको पुष्टि डा. नागले सोमवार गरिदिनुभएको छ। जहाँ उहाँले असार २९ गतेसम्मको अग्रमी हाजिर गर्नुभएको छ ।
वरिष्ठ डाक्टरहरुले नै अटेर गर्ने र आफ्ना नीजि अस्पतालमा मात्र ध्यान दिँदा अस्पतालमा उपचार गर्न आउने सर्वसाधरणले सास्ती खेप्नु परेको छ ।
राज्यको सेवा सुविधा लिएर गैरजिम्मेवार काम गर्नु गलत भएको श्रेष्ठको भनाइ छ। यस्ता अटेरी गर्ने जो कोही कर्मचारीलाई सजग हुन पनि श्रेष्ठले चेतावनी दिनुभएको छ ।