बर्खायामका बेला सर्पहरू पानीबाट निस्केर बाहिर आउने भएकोले अरू बेलाको तुलनामा अझ बढी सजग हुनुपर्ने हुन्छ । जमिनमुनि बस्नेदेखि पानीमा रहनेसम्मका सर्प पनि श्वास फेर्न बाहिर आउनुपर्ने भएकोले उनीहरू सुक्खा ठाउँमा आउँछन्। त्यो भएर मानवसँग जम्काभेट हुने सम्भावना पनि बढी हुन्छ ।
खासगरी गर्मीयाममा सर्पको बिगबिगी हुने तराई क्षेत्र जस्तै बाँके, बर्दिया, दाङ, कैलाली, कंचनपुर लगायतमा बाढीको प्रकोप देखिने भएकाले थप सतर्कता अपनाउनुपर्ने चिकित्सक तथा विज्ञहरू बताउँछन् । किनभने यि जिल्ला वन जंगल क्षेत्रसँग जोडिएका पनि छन् । स्वभाविकरुपमा सर्पको बढी जोखिम हुन्छ । पर्याप्त सावधानी नअपनाए सर्पदंशबाट मानिसको ज्यान तल माथि हुन सक्ने जोखिम बढी हुन्छ ।
संसारभर ३४ सयभन्दा बढी सर्पका प्रजाति रहेको बताइन्छ । नेपालमा करिव ९० प्रजातिका सर्प पाइन्छ । तीमध्ये १५–२० प्रजातिका सर्प मात्रै विषालु मानिन्छन् । केही सर्पले जीवनकाल पानीमा बिताउँछन् भने कुनै सर्प जमिनमुनि अन्य प्राणीले खनेका वा बनाएका प्वालमा बस्छन् । केही सर्प रुखमाथि बस्छन् । सर्पका धेरैजसो प्रजाति मानिसलाई हानि नगर्ने खालका नै हुन्छन् । थुप्रै सर्पका प्रजातिमा बिल्कुलै विष हुँदैन ।
सर्पसम्बन्धी ज्ञान नभएकाहरूलाई कुन सर्प विषालु हो र कुन होइन भनी पहिचान गर्न गाह्रो हुन्छ । बाहिरबाट झ्वाट्ट हेर्दा सबै सर्प उस्तै देखिए तापनि हरेक सर्पको शरीरको निश्चित विशेषता हुन्छ । जसले गर्दा कुन प्रजातिको सर्प विषालु र कुन चाहिँ विष नभएको छुट्याउन सकिन्छ । यो क्षेत्रमा खासगरी कोब्रा र करेत प्रजातिका विषालु सर्पको डसाइबाट आउने विरामी बढी छन् । र, बिषालु प्रजातिका सर्पमध्ये यसक्षेत्रमा पाइने भनेको कोब्रा र करेत नै हुन् ।
करेतको डसाइ सामान्यतया राति सुतेका वेला हुन्छ र डसाइ भएको थाहै नपाउन सकिन्छ । यसको लक्षण बिहान पेट दुख्ने, आँखा उघार्न गाह्रो पर्ने हुन्छ, अतः यस्तो भयो भने छिट्टै उपचार गरिहाल्नुपर्छ । गोमनले दिउँसो कामको दौरान वा साँझ–बिहान डस्ने गर्छ । सर्पले डसी हाल्यो भने डराइ हाल्नु पर्ने आत्तिहाल्नु पर्ने हुदैन् । जसरी मैले माथि भने अधिकांश सर्पका प्रजाति विषालु हुदैनन् ।
अधिकांश सर्प विषालु हुदैनन् । ति बिषालु सर्पले डसेपछि विष लाग्ने पनि हुदैन् । तर हाम्रो समाजमा धामी झाक्रीको भर पर्ने चलन छ । बिषविहीन सर्पले डसेसी धामी झाक्रीले ठिक पार्ने होइन् धामी झाक्री कहाँ जानै पर्दैन् आफै ठिक भइहाल्छ । तर बिषालु सर्पले डस्यो भने धामी झाक्रीको भर पर्नु हुन्न् । अस्पतालनै जानु पर्छ ।
त्यसैले सर्पले डस्ना वित्तिकै आत्तिहाल्नु हुँदैन् । सर्पले डसेका वेला जो मान्छे नजिकमा हुन्छ उसले वा जसलाई डसेको हो उसले आफैँ पनि प्राथमिक उपचार गर्न सक्छ । बिरामीलाई सान्त्वना दिनुपर्छ, किनभने धेरैको डरले पनि मृत्यु हुन्छ । डसेको हात वा खुट्टालाई हलचल हुन नदिनु एउटा प्रभावकारी उपाय हो । काम्रो लगाएर भए पनि डसेको हातखुट्टा हल्लिन दिनु हुँदैन । र, लक्ष्ण चिन्ह देखिन थाल्यो भने तुरुन्त नजिकको सर्पदंश उपचार केन्द्रमा पु¥याउनुपर्छ ।
स्वास्थ्यकर्मी तथा अस्पतालहरुले के गर्ने ?
सर्पदंशको बिरामीलाई विष लागिसकेको अवस्थामा श्वासप्रस्वास समस्या आइसकेपछि एन्टिस्नेक भेनम भन्दा बढी स्वासप्रश्वासको प्राथमिक उपचार बढि महत्वपुर्ण हुन्छ।
सास फेर्न गार्हो भैसकेपछि अक्सिजन दिनु र बिरामी बेहोस हुनलागिसकेको छ भने श्वास नलिमा पाइप राखेर कृतिम श्वासप्रश्वास दिएर मात्र बिरामी रिफर गर्नु जरुरी हुन्छ।
आफ्ने स्वास्थ्य संस्थामा एनटिस्नेक भेनम उपलब्ध नभएमा सर्पदंशको बिरामी पनि अरु श्वाशप्रश्वासका बिरामी जस्तै गरेर प्राथमिक उपचार गरी अक्सिजनको उपलब्धता भएको एम्बुलेन्समा राखेर मात्रै रिफर गरे बिरामीको ज्यान जोगिने संभावना बढी हुन्छ।
यस मामिलामा बर्दिया जिल्ला अस्पतालको सिको गर्न जरुरी छ । उक्त अस्पतालले बिगत ३ बर्ष देखि सर्पदंशको बिरामीको प्राथमिक उपचारमा उदाहरणिय काम गरेको छ । यो अस्पतालले श्वासप्रश्वासमा समस्या भएका त्यस्ता बिरामीलाई श्वासनलिमा पाइप राखेर कृत्रिम सास दिएर रिफर गर्ने गरेको छ । जस्का कारण धेरै जनाको ज्यान जोगिएको छ । त्यसैले अरु स्वास्थ्य संस्थाहरुले पनि यसको सिको गरेर रिफर गरेपछि बाटोमै बिरामीको ज्यान जाने जोखिमलाई कम गर्न सकिन्छ ।
सर्पदंशबाट बच्ने उपाय
– घर तथा खेल मैदानवरिपरि सफा राखौँ, झाडी, ढुंगा, हिलो र पातको थुप्रो नराखौँ
– राती हिड्नु पर्दा खुट्टा ढाक्ने गरी लामो लुगा र बुट वा जुत्ता लगाऔँ
– राति अँध्यारोमा हिँड्दा टर्च वा बत्ती बालेर मात्र हिँड्ने गरौँ
– ढुंगाको थुप्रो अथवा काठमा सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले त्यस्ता ठाउँमा काम गर्दा सतर्क बनौँ, केटाकेटीलाई सर्प हुन सक्ने इलाकामा जानबाट रोक्ने
आफ्ना क्षेत्रमा भएका विष नभएको सर्पका बारेमा जानकारी राखौँ, भुइँमा सुत्न छाडौँ
– झुल टाँगेर मात्र सुत्ने गरौँ
– पालभित्र सुत्ने हो भने राम्ररी ढोका बन्द गरेर मात्र सुतौँ
(एनेस्थेसियोलोजिष्ट डा पारश पाण्डे, भेरी अस्पताल नेपालगन्जमा कार्यरत हुनुहुन्छ)