कौशिल्या अस्पतालको आयोजनामा कोहलपुरमा निःशूल्क स्वास्थ्य शिविर (कहाँ-कहाँ, कहिले हुदैछ शिविर)?

    • स्वास्थ्य पेज

  • ९ असार २०७९, बिहीबार

कोहलपुरः बाँकेको कोहलपुरस्थित कौशिल्या अस्पताल प्रालिले जेष्ठ नागरिकलाई लक्षित गरेर निशूल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोग, नगर स्वास्थ्य शाखाको समन्वयमा कोहलपुर नगरपालिका–८ को वडा कार्यालयमा विहीबार निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको अस्पतालका प्रशासकिय प्रमुख शंकर न्यौपानेले जानकारी दिनुभयो ।

वडा नम्वर ८ र ९ का स्थानीयलाई लक्षित गरेर आयोजना गरिएको शिविरमा ८० जना जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँचसँगै औषधि वितरण गरिएको प्रशासकिय प्रमुख न्यौपानेले बताउनुभयो ।

आँखा, दाँत र फिजिसियन सेवासहितको उक्त शिविरमा डा एन के यादव, डा सन्तोष विसी, डा निमबहादुर डाँगीलगायतले चेकजाँच गर्नुभएको थियो ।


अस्पतालका प्रबन्ध निर्देशक राम न्यौपानेको अध्यक्षता तथा वडा अध्यक्ष लालबहादुर रानाको प्रमुख आथित्यमा भएको शिविर उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष रानाले वडाका जेष्ठ नागरिकहरुको स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले उमेर ढल्कदै गएका जेष्ठ नागरिकहरु स्वास्थ्यका हिसावले जोखिमपूर्ण हुने भएकाले गाउँघरमै शिविर आयोजना गरेर उनीहरुको स्वास्थ्य अवस्था थाहा हुने र त्यही अनुसार उपचार गर्न सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनिल सेन ठकुरीले पालिका र अस्पतालको सहयोग र समन्वयमा आयोजना गरिएको शिविरले जेष्ठ नागरिकहरुलाई ठूलो लाभ पुर्याएको बताउनुभयो ।

भोली शुक्रबार राम मावि हवल्दारपुरमा शिविरको आयोजना गरिएको छ । कोहलपुर नगरपालिका ७, १४ र १५ नम्बर वडालाई लक्षित गरेर शिविर आयोजना गरिएको हो ।

यस्तै ११ गते लक्ष्मी मावि बर्दहवामा शिविर आयोजना गरिएको छ । उक्त शिविरमा १, २ र ३ नम्वर वडाका नागरिकले सेवा लिन पाउने छन् ।

१२ गते वडा नम्वर ११, १२ र १३ लाई लक्षित गरेर विद्याज्योति आधारभूत स्कुल चप्परगौरीमा शिविर आयोजना गरिएको पनि प्रशासकिय प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै १३ गते ४, ५, ६ र १० नम्वर वडाका स्थानीयलाई लक्षित गरेर सामुदायिक भवन रझेनामा शिविर आयोजना गरिएको छ ।

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech