सेतो दुबी छुँदैमा सर्दैन

    • डा. प्रज्वल पुडासैनी/छालारोग विशेषज्ञ

  • ७ असार २०७९, मंगलवार

नेपालगन्जः जुन महिनालाई सेतो दुबी सचेतना महिनाका रुपमा विशेषतस् अमेरिकी प्रान्तमा मनाइए पनि विश्वभर नै सेतो दुबीको सचेतना जगाउन आवश्यक छ । विश्वको करिब एक प्रतिशत जनसंख्यालाई भएको यो रोगमा छालालाई कालो वा खैरो रंग प्रधान गर्ने मेलनओसाईट नामक कोषिकामा वंशाणुगत र वातावरणका कारणले असर गर्ने गरेको पाइएको छ ।मेलनओसाइटका कोषिकाहरू बिस्तारै बिग्रिँदै र कम हुँदै जाँदा यसले छालालाई दूध सेतो रंग प्रधान गर्दछ । सेतो दुबी धेरैजस्तो २० देखि ३० वर्ष उमेरका महिलाहरूमा बढी देखिन्छ ।

सेतो दुबीका प्रकार

सेग्मेन्टलः अर्थात् शरीरको एउटा पूरै भागमा देखिने सेतो दूधजस्तो टाटो ।

नन् सेग्मेन्टलः अर्थात् अनुहार-हातखुट्टा, मुखभित्र, यौनी र यौनीका वरिपरी र जिउभर नै देखिने सेतो दूधजस्ता टाटा

कसरी हुन्छ सेतो दुबी अर्थात् ‘भिटिलिगो’ ?

इम्युन सिस्टममा गडबडी, वंशाणुगत र वातावरणका कारण मेलनओसाइटका विरुद्ध शरीरमा विभिन्न रसायन र एन्टिबडी बनेका कारण मेलनओसाइट नामक कोषिकाहरू बिस्तारै बिग्रिँदै र कम हुदै जानछन् र छाला दूधजस्तो सेतो रंगको देखिन थाल्छ । सामान्यतया मेलनओसाइटले छालालाई कालो वा खैरो रंग प्रदान गर्दछ । करिब ३० प्रतिशत सेतो दुबी भएका व्यक्तिका आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा सेतो दुबी हुने गरेको पाइन्छ ।

यस्तै घाउचोट लागेका ठाउँमा, कस्सिने लुगा, बेल्ट लगाएका ठाउँमा, रबर, प्लास्टिक, केमिकलहरुको छालासँगको सम्पर्कबाट पनि सेतो दुबी बढ्ने गर्दछ । साथै सेतो दुबी इम्युन सिस्टमको गडबडीले हुने अरु रोग‚ जस्तैः सुगर, थाइरोइड, एनेमिया आदिसँग पनि सँगैसँगै देखिने हुँदा, सेतो दुबी भएका बिरामीमा ती रोग को जाँच गर्नुपर्ने हुन्छ ।

सेतो दुबीका लक्षण के–के हुन् ?

सेतो दूधजस्तो देखिने, सेतो कपाल उम्रेका टाटाहरू, घामको विकिरण पर्ने ठाउँ, घाउचोट लागिरहने ठाउँहरू( हातखुट्टा, कुइना, घुडा, कम्मरमा यो बढी देखिन्छ । यस्तै थोरै मानिसमा शरीरको पूरै छाला दूधजस्तै सेतो भई कुनैकुनै ठाउँमा मात्र रंग भएको छाला हुने पनि हुन्छ ।

कसैकसैमा सेतो छाला भएको ठाउँमा घामको एलेर्जीसमेत हुने हुन्छ ।

सेतो दुबी धेरै जसो मानिसमा समयसँगै बढ्दै जान्छ । छालामा घाम पर्ने स्थानमा सेतो दुबीमा रौँका वरिपरी छालाको सामान्य रंग आउने पनि गर्दछ । सेतो दुबी वंशाणुगत कारणले जीनको माध्यमबाट परिवारमा देखिए पनि, छोएर, सँगै बसेर, हात मिलाएर भने सर्दैन ।

सेतो दुबी कसरी पत्ता लगाउने ?

धेरैजस्ता मानिसमा छालामा देखिएका लक्षणबाट सेतो दुबी पत्ता लगाउन सकिन्छ र कुनै किसिमको विशेष जाँचको आवश्यकता पर्दैन । तर‚ अरु किसिमका सेतो दुबीजस्तै रोग पहिचानका निम्ति बायप्सी, वुड्स ल्याम्प आदि जाँच गर्नुपर्ने हुन्छ ।

सेतो दुबीका उपचार विधि के-के हुन् ?

शरीरको पाँच प्रतिशतभन्दा कम छाला सेतो छ भने स्टेरोइड मलम र ट्याक्रोलिमस मलम चिकित्सकको सल्लाहबमोजिम लगाउनु पर्छ । पाँच प्रतिशतभन्दा बढी शरीरको छाला सेतो भएमा भने फोटोथेरापी अर्थात् प्रकाशको माध्यमले सेतो दुबीको उपचार गर्नुपर्ने हुन्छ । तर‚ फोटोथेरापीको उपलब्धता सबै ठाउँमा नहुने हुँदा यस्ता बिरामीमा चिकित्सकको सल्लाहबमोजिम खाने औषधि स्टेरोइड सेवन गर्नु उचित हुन्छ ।

सेतो दुबीको मानसिक पाटो र उपचार

सेतो दुबी छालाको दीर्घरोग भएकाले यसले गर्दा मानिसलाई डिप्रेसन, एन्जाइटी पनि देखिन सक्छ । त्यसैले सेतो दुबी भएका बिरामीलाई मनोचिकित्सकको उचित परामर्श र उपचार दिएमा यसले छालामा सामान्य रंग ल्याउन मद्दत गर्ने पनि अनुसन्धानहरूले देखाएका छन् ।

यस्तै शरीरका अनुहार, हातलगायत ठाउँमा भएका सेतो दुबीलाई कस्मेटिक क्यामोफ्लाजबाट विभिन्न रंग भएका क्रिमहरू लगाई छालाको सामान्य रंगजस्तो देखाउन पनि सकिन्छ ।

सेतो दुबीमा गरिने शल्यक्रिया

सेतो दुबीको उपचारका निम्ति विभिन्न किसिमका शल्यक्रिया पनि गर्न सकिन्छ । यस्ता शल्यक्रियामा तिग्रा, पाखुरालगायतका ठाउँबाट सामान्य रंग भएका छाला निकाली सेतो दुबी भएका ठाउँमा टाँस्ने गरिन्छ । यस्तै सामान्य रंग भएका छालालाई निकाली त्यसमा विभिन्न रसायन प्रयोग गरी झोलिलो पदार्थ बनाई दुबी भएको ठाउँमा राखेर गरिने शल्यक्रिया पनि अहिले निकै प्रचलित हुँदै आएको छ । सेतो दुबी छोएर नसर्ने, मानसिक असर गर्ने र यसको समयमै उपचार गरे धेरै हदसम्म न्यूनीकरण गर्न सकिने हुँदा यसबारे जानकारी फैलाउन निकै जरुरी छ ।

  • ७ असार २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech