त्रिवि शिक्षण अस्पतालद्धारा स्वास्थ्य बीमा स्थगित

    • स्वास्थ्य पेज

  • ३ असार २०७९, शुक्रबार

नेपालगन्जः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सरकारबाट स्वास्थ्य बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको छ ।

डेढ वर्षदेखि करिब ८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको जनाउँदै अस्पताल प्रशासनले हालको लागि बीमा कार्यक्रम नै स्थगित गरेको जनाएको छ ।

अस्पतालका सूचना अधिकारी राम विक्रिम अधिकारीले असार १५ देखि अर्को सुचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।

‘सरकारले रकम भुक्तानी गर्न नसक्दा औषधि किन्न नै समस्या भएका कारण बीमा बापतको उपचार सेवा स्थगित गर्नुपरेको हो,’ अधिकारीले भन्नुभयो–‘अस्पताल प्रशासनले पटक–पटक बीमा बोर्डमा गएर भुक्तानी अनुरोध गरेको थियो । तर, सरकारबाट पैसा नआएको भन्दै भुक्तानी दिन बोर्डले अनाकानी गर्‍यो।’

‘आठ करोड पैसाको भुक्तानी नहुँदा पनि सेवा दिइरहेका थियौं । तर, धेरै समयको भुक्तानी बाँकी हुँदा अन्य सेवा प्रभावित भयो । जसले गर्दा बाध्य भएर सेवा बन्द गर्नुपर्यो,’ अधिकारीले थप्नुभयो । हाल टिचिङमा मात्रै दैनिक स्वास्थ्य बीमा कार्यक्रम मार्फत चार सयभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् । अस्पतालले २०७७ मंसिर महिना देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार, हाल देशभर ४४० स्वास्थ्य संस्थाले बीमा कार्यक्रम लागू गरेका छन् ।

सरकारले स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्‍याउने, कुनै किसिमको आर्थिक कठिनाइ विना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने उद्देश्यले २०७२ चैत २५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो ।

तर, पछिल्लो समयमा बीमितहरुले योगदान अनुसारको सुलभ र प्रभावकारी सेवा पाउन नसक्दा कार्यक्रमको आकर्षण नै खस्कँदै गएको छ । त्यसका साथै समयमा नै स्वास्थ्य संस्थाले सरकारबाट भुक्तानी पाउन नसक्दा कार्यक्रम नै बन्द गरिरहेका छन् ।

  • ३ असार २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech