नेपालगन्जः डडेल्धुरा अस्पतालमा जेठ १९ गते भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानबिन प्रतिवेदन सार्वजनिक गरिएको छ।
मृतक बालिकाका आफन्तले डाक्टरको चरम लापरबाहीले थापा मगरको मृत्यु भएको भन्दै आपत्ति जनाएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले ७२ घण्टा भित्र छानबिन गरि दोषीलाई कारबाही गर्न अस्पतालका निमित्त मेसु डा चेतराज भट्टलाई निर्देशन दिएको थियो।
तर, एक सातापछि सार्वजनिक गरिएको प्रतिवेदनमा मेसु भट्टले एकोहोरो छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि मृतकका आफन्त र सरोकारवालाले आपत्ति जनाएका छन्।
मेसु भट्टले सार्वजनिक गरेको छानबिन प्रतिवेदन एकोहोरो र दोषी बचाउनका लागि हचुवाका भरमा सार्वजनिक गरिएको मृतकका बाबु प्रकाश थापाले गुनासो गर्नुभयो ।
अस्पतालले पिडित परिवारसहित सर्वदलिय, सर्वपक्षिय बैठकको आयोजना गरी घटनाको प्रतिवेदन सार्वजनिक गरेको थियो। मेसु भट्टले एकोहोरो छानबिन प्रतिवेदन सार्वजनिक गरेको सर्वपक्षिय आरोपपछि घटनाको पुनःछानबिन गर्न तीन सदस्यीय छानविन समिति बनाइएको छ।
मेसु भट्टको संयोजकत्वमा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आसुतोष श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति बनाइएको अस्पतालले जनाएको छ।
समितिलाई घटनाको सत्यतथ्य रुपमा छानविन गरी सीसीटिभी फुटेज समेत संलग्न गरी प्रतिवेदन ल्याउन भनिएको छ।