धनगढी उपमहानगर र भाटभटेनीबीच स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता

    • स्वास्थ्य पेज

  • २६ जेष्ठ २०७९, बिहीबार

नेपालगन्जः धनगढी उपमहानगरपालिका कार्यालय र भाटभटेनी सुपरमार्केटबीच निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता भएको छ ।

अगामी ५ वर्षका लागि उपमहानगरपालिकाले भाटभटेनी सुपरमार्केटसँग १९ वटै वडामा विशेषज्ञ चिकित्ससहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता गरेको हो ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले बुधबार सम्झौता पत्र आदानप्रदान गर्नुभएको छ ।

सम्झौता पत्रमा धनगढी उपमहानगरपालिकाले सबै वडामा मासिकरुपमा विशेषज्ञ स्वास्थ्य क्लिनक सञ्चालन गर्ने, विशेष स्वास्थ्य सेवाका लागि एक जना स्त्री रोग विशेषज्ञ डाक्टर र एक जना फिजिसियन डाक्टरको व्यवस्था गर्नेछ भने भाटभटेनी सुपरमार्केटले विशेषज्ञ क्लिनिकका लागि राखिने दुई जना डाक्टरको पारिश्रमिक व्यहोर्ने कुरा उल्लेख गरिएको छ ।

दुवै पक्षबीच भएको सम्झौताअनुसारका सर्तहरु अगामी साउन १ गतेदेखि लागू हुने उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कृष्ण बोहराले बताउनुभयो ।

सम्झौता पत्र आदानप्रदान कार्यक्रममा बोल्दै मेयर हमालले सबै नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन विशेषज्ञ स्वास्थ्य क्लिनिक सेवा सञ्चालन गर्न भाटभटेनी सुपरमार्केटसँग सम्झौता गरिएको बताउनुभयो ।

उहाँले १९ वटै वडामा मासिक रुपमा तोकिएको दिन मात्र निःशुल्क स्वास्थ्य परीक्षण गर्न योजना रहेको सुनाउनुभयो ।

  • २६ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech