नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ३ र ४ का ९ जना व्यक्तिमा सिकलसेल तथा थालसेमिया रोग फेला परेको छ । ५ जनाका सिकलसेल र ४ जनामा थालसेमिया रोग फेला परेको हो ।
स्वास्थ्य कार्यालय बाँकेले ती वडामा सिकलसेल तथा थालसेमिया रोगको स्क्रिनिङ गरिरहेको छ ।
संकलित ६० जनाको नमुना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ९ जनामा सिकलसेल तथा थालसेमिया रोग फेला परेको भेरी अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिनुभयो । अव ति परिवारका सदस्यहरुको पनि नमुना जाँच गर्ने तयारी थालिएको छ ।
राप्तीसोनारीबाट करिव दुई हजार नमुना संकलन गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । दैनिक पचास जनाको नमुना संकलन भइरहेको सिकलसेल ल्याव विज्ञ संजिव चौधरीले बताउनुभयो ।
थारु समुदायमा बंशानुगतरुपमा रहेको सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि राप्तीसोनारीमा दैनिकरुपमा स्क्रिनिङ तथा परामर्श शिबिर भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले बताउनुभयो ।
पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कैलाली र कंचनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायमा सिकलसेल तथा थालसेमिया रोग जनस्वास्थ्य समस्याकैरुपमा रहेको छ ।
राप्तीसोनारीमा पनि थारु समुदायको बसोबास बढी रहेकाले सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि स्क्रिनिङ तथा परामर्श शिबिर आयोजना गरिएको शाहले बताउनुभयो ।