नेपालगन्जः भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि त्यसको जोखिम सीमावर्ती जिल्ला बाँकेमा पनि देखिन थालेको छ । भारतका विभिन्न स्थानबाट आउने नेपालीमा कोभिड संक्रमण देखिन थालेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
सोमवारमात्रै नेपालगन्जको जमुनाह नाकामा तीन जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये दैलेख, प्यूठान र जाजरकोटका एकएक जना रहेका छन् । केही दिन अघि पनि तीन जनामा भाइरस संक्रमण पुष्टि भएको थियो ।
एन्टिजेन विधिमार्फत् गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको वलीले बताउनुभयो । पछिल्लो केही दिन यता भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । जस्का कारण नेपालमा पनि संक्रमणको जोखिम बढ्दै गएको हो ।
पछिल्लो समयमा मानिसहरुले कोरोना भाइरस संक्रमणबाट जोगिने तवरतरिका विर्सिसकेका छन् । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र सरसफाईमा ध्यान दिने सवालमा मानिसहरुले हेलचेक्र्याइ गर्ने गरेका छन् ।